काठमाडाैं- वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यवस्थापनमा नयाँ परिवर्तन गरिएको छ। अबदेखि पुनर्बीमक कम्पनीहरूले पालैपालो चार वर्षको अवधि का लागि सामूहिक बीमा कोष (पुल) प्रबन्ध गर्नेछन्। नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालनसम्बन्धी निर्देशन, २०८१ लाई पहिलो संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको हो।
हाल नेपालमा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि) गरी दुई पुनर्बीमक कम्पनीहरू पुनर्बीमा व्यवसाय सञ्चालन गरिरहेका छन्। यसअघि, दफा ५ अनुसार यी कम्पनीहरूले संयुक्त रूपमा कोष प्रबन्धन गर्नुपर्ने व्यवस्था थियो। तर, संशोधनपछि अब प्रत्येक पुनर्बीमकले चार वर्षका लागि पालैपालो कोष व्यवस्थापन गर्नेछ।
प्राधिकरणले निर्देशनको दफा ८ मा पनि संशोधन गर्दै बीमालेख जारी गर्ने बीमा कम्पनी (सदस्य बीमक) लाई व्यवस्थापन खर्चस्वरूप बीमाशुल्कको १ प्रतिशत प्रदान गरिने व्यवस्था गरेको छ। साथै, कोष प्रबन्धकले बीमांकीय मूल्यांकनको खर्च सदस्य बीमकहरूबीच बीमाशुल्क बाँडफाँटका आधारमा मिलान गर्नुपर्ने व्यवस्था गरिएको छ।
नयाँ निर्देशिकाले सामूहिक बीमा कोषको पुनर्बीमा प्रबन्धन लाई समेत थप व्यवस्थित बनाउने गरी संशोधन गरिएको छ। यो सुधारसँगै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूको बीमा प्रक्रियालाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया