७५औं प्रजातन्त्र दिवस

नेपाली जनताको जीवनस्तर उकास्न एकताबद्ध प्रयास आवश्यक : प्रचण्ड

बुधबार, ०७ फागुन २०८१, ०९ : ३९

काठमाडौं- ७५ औं प्रजातन्त्र दिवसको सुखद अवसरमा पूर्व प्रधानमन्त्री एवं ने‍कपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले प्रजातन्त्र स्थापनाका लागि अमूल्य बलिदान दिने महान् सहिदहरूलाई भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै, लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याउने सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान प्रकट गरेका छन्।

पूर्व प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट स्थापित प्रजातन्त्र संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण यात्रासम्म आइपुगेको उल्लेख गरे। उनले २००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०४६ सालको जनआन्दोलन, महान् जनयुद्ध, २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन लगायत विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका न्यायपूर्ण संघर्षहरूको निर्णायक भूमिका रहेको स्मरण गरे।

संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको प्रमुख राष्ट्रिय कार्यभार भएको बताउँदै प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मूल एजेण्डा बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए।

"बदलिएको राजनीतिक व्यवस्थासँगै नेपाली जनताको जीवनस्तर उकास्न एकताबद्ध प्रयास आवश्यक छ। प्रजातन्त्र दिवसले हामीलाई नवीनतम् सम्भावनाहरू पहिचान गर्न र राष्ट्रको उन्नतिमा योगदान दिन प्रेरित गरोस्," उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

प्रजातन्त्र दिवसको ऐतिहासिक महत्वलाई उजागर गर्दै उनले उपलब्धिहरूको रक्षा र संविधानको कार्यान्वयनमार्फत समतामूलक समाज निर्माण गर्ने प्रतिवद्धता दोहोर्‍याए। यस दिवसले मुलुकका विभिन्न चुनौतीहरू पार गर्दै नयाँ अवसरहरू सिर्जना गर्ने मार्ग प्रशस्त गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दै प्रधानमन्त्रीले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पुनः शुभकामना दिएका छन्।

बुधबार, ०७ फागुन २०८१, ०९ : ३९

प्रतिक्रिया