काठमाडौं- आज ७५ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १०४ वर्षे जहानियाँ राणाशासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापनाको भएको दिनको अवसरमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस औपचारिक रुपमा मनाउने गरिन्छ ।
निरकुंश राणाशासनको विरुद्धमा प्रजातन्त्रको पक्षमा आन्दोलनमा होमिदा कैयौं वीर सपुतहरुले ज्यान गुमाएका छन् । उनीहरुको बलिदानीको जगमा स्थापित प्रजातन्त्रले हामीलाई राजनीतिक स्वतन्त्रता दिलाएको हो । तर, प्रजातन्त्र स्थापनाको ७५ औं वर्षमा समेत मुलुकमा राजनीतिक स्थायित्व र विकासले गति लिन सकेको छैन । मुलुक अनेकौं समस्याले आक्रान्त छ ।
देशको आर्थिक अवस्था दिनानुदिन कमजोर बन्दै गइरहेको छ । बेरोजगारी समस्याले युवाहरुको विदेश पलायनको दर विकराल बनेको छ । यसले कालान्तरमा युवाविहीन देश बन्ने हो कि भन्ने संशय बढाएको छ । राज्य सञ्चालकहरुले यसलाई गम्भीरतापूर्वक लिएका छैनन् । उनीहरु आफ्नो सत्ता टिकाउने ध्याउन्नमा केन्द्रित छन् । यसले वर्तमान व्यवस्थाप्रति नै वितृष्णा मौलाएको छ ।
आधुनिक नेपालको प्रजातान्त्रिक प्रणालीको प्रथम चरणका रुपमा राणा शासन हटाएर प्रजातन्त्र आएको अवधिलाई मानिन्छ । त्यसपछि पनि विभिन्न आन्दोलन चल्दै मुलुक अहिले गणतान्त्रिक व्यवस्थामा आइपुगेको छ । तथापि, विगतका समस्याले मुलुक र जनता मुक्त हुन सकेका छैनन्। झनै समस्या बढ्दै जाँदा जनतामा हरेक व्यवस्था आए पनि केही नहुने रहेछ भन्ने भाष्य बलियो बन्दै छ ।
शासन व्यवस्थाले जनतालाई अपनत्व प्रदान गर्न सके मात्रै त्यसको औचित्य रहन्छ । मुलुक र जनताका समस्या प्रति गम्भीर नबनेर आफ्नो मात्रै सत्तास्वार्थ पूर्ति गर्ने प्रवृत्तिले व्यवस्थाप्रति नै नकारात्मक भाव पैदा गराउँछ । पछिल्लो समय नेपालमा यस्तै प्रवृत्तिले जनताहरुको असन्तुष्टि बढेको हो ।
जनजिवीकाका सवालमा कुनै ध्यान नदिएर जनतामाथि उपेक्षा गर्दै आफू र आफ्नालाई पोस्ने राणा शासनको चरित्र थियो ।पारिवारिक मोहमै सीमित रहेर जनताप्रति अनुत्तरदायी भएकाले नै २००७ फागुन ७ गते नेपालबाट सदाका लागि राणा शासन अन्त्य गरेर प्रजातन्त्र ल्याइएको हो ।
अहिलेका शासन सत्तामा रहेका नेताहरु पनि आफ्नो दलगत स्वार्थमै रमाएर देश र जनताका समस्याप्रति पूर्णतया उदासिन देखिएका छन् । राजनीतिक स्वतन्त्रता प्राप्तिलाई मात्रै वर्तमान व्यवस्थाको महिमा मण्डन गर्दै सत्तामा लिप्त रहेर मात्रै प्रजातन्त्रको रक्षा कदापि हुँदैन । जनताले व्यावहारिक जीवनमै त्यसको प्रत्यक्ष अनुभूति गर्नुपर्छ ।
राज्य सञचालकहरुले मुलुकका ज्वलन्त समस्या निराकणका लागि जनतालाई अनुभूत हुने गरी ठोस कार्यक्रम ल्याउन नसके प्रजातन्त्र प्राप्तिको गौरब गाथा गाएर मात्रै जनताले पत्याउनेवाला छैनन । तसर्थ, शासन सत्तामा रहेकाहरुले जनताका समस्या समाधानमा केन्द्रित भएर साँच्चिकै प्रजातन्त्र प्राप्तिको प्रत्याभूति दिलाउन जरुरी छ ।
प्रतिक्रिया