फाइल फाेटाे
काठमाडाैं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई यस वर्षको प्रतिष्ठित ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ। बागलुङस्थित ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ द्वारा आयोजित विशेष समारोहमा पुनको अनुपस्थितिमा केन्द्रका प्रतिनिधि इन्द्र वलीलाई नगद रु ५० हजार, दोसल्ला र सम्मानपत्र प्रदान गरियो। नवप्रवर्तन र रोजगारी सिर्जनाका क्षेत्रमा पुनको योगदानलाई सम्मान गर्दै गुठीले उनिद्वारा लिखित पुस्तक ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ का लागि यो पुरस्कार समर्पित गरेको हो।
डा. पुन विज्ञान, प्रविधि र आविष्कारका क्षेत्रमा कर्मशील व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलतालाई आधार बनाएर देशभर वैज्ञानिक सोचको विस्तार गरिरहेका छन्। राष्ट्रिय आविष्कार केन्द्रमार्फत उनले नेपाललाई ‘आयातित प्रविधिमा निर्भर रहने’ मानसिकताबाट बाहिर निकाल्ने प्रयास गर्दै आएका छन्।
यसै अवसरमा, साहित्यका क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ।
यो वर्षको ‘धवलागिरि प्रतिभा पुरस्कार’ साहित्यकार जगन्नाथप्रसाद लम्साललाई प्रदान गरिएको छ। उनको चर्चित काव्यकृति ‘सहधर्मिणी’ का लागि प्रदान गरिएको उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ। साहित्यिक क्षेत्रमा समर्पित लम्सालले कविता मार्फत समाजको यथार्थ चित्रण गर्दै आएका छन्।
त्यसैगरी, ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार–२०८१’ पाल्पाका साहित्यकार चोलेश्वर शर्मालाई प्रदान गरिएको छ। शर्माको निबन्ध सङ्ग्रह ‘सगरमाथा एक पहाडको नाम होइन’ लाई कदर गर्दै रु २५ हजार राशिको यो पुरस्कार प्रदान गरिएको हो। गुठीका सदस्यसचिव महेशचन्द्र प्रधानले साहित्यिक उन्नयनमा शर्माको योगदान अतुलनीय रहेको उल्लेख गरे।
बागलुङ नगरपालिका–४ कुँडेलस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत विद्यालयका छात्र रामकृष्ण सुवेदीलाई ‘गुरु गणेश स्मृति पुरस्कार’ प्रदान गरिएको छ। गणेशप्रसाद र विष्णुकुमारी श्रेष्ठको स्मृतिमा स्थापना गरिएको रु १० हजार राशिको यो पुरस्कार संस्कृत शिक्षा प्रवर्द्धनमा समर्पित छात्रहरूलाई प्रदान गरिन्छ।
साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाले विसं २०३४ मा आफ्नी दिवंगत आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा पुरस्कार कोष स्थापना गरेका थिए। आजसम्म साहित्य, कला, संस्कृति र शिक्षाका क्षेत्रमा समर्पित स्रष्टाहरूलाई सम्मान गर्दै आएको ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ नेपालकै जेठो पुरस्कार संस्थामध्ये एक मानिन्छ।
यो वर्षको पुरस्कार वितरण समारोह रत्नकुमारी श्रेष्ठको ११७औँ पुण्यतिथि र ४८औँ स्मृति दिवस को अवसर पारेर सम्पन्न गरियो। गुठीले स्रष्टा सम्मानको निरन्तरता कायम राख्दै भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनमा निरन्तर योगदान दिइरहेको छ।
समर्पण, सिर्जनशीलता र नवप्रवर्तनको सम्मानमा समर्पित यो सम्मान कार्यक्रम स्रष्टाहरूका लागि प्रेरणादायी रहोस् भन्ने शुभेच्छासहित कार्यक्रम समापन गरियो।
प्रतिक्रिया