नेपाल एयरलाइन्स र जापान एयरलाइन्सबीच ऐतिहासिक साझेदारी

बुधबार, ०७ फागुन २०८१, २१ : २२

काठमाडाैं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र जापानको प्रतिष्ठित जापान एयरलाइन्सबीच व्यापारिक साझेदारी विस्तारका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै नेपाल एयरलाइन्सको टिकट खरिद गरी जापान एयरलाइन्सको सुविधा सम्पन्न उडानमार्फत संसारभर सहज यात्राको ढोका खुलेको छ।

अब नेपाल एयरलाइन्सका यात्रुहरूले निगमको टिकटमार्फत जापान एयरलाइन्सको जडान (कनेक्टिङ फ्लाइट) प्रयोग गरी विश्वका जुनसुकै गन्तव्यसम्म सहज र सुविधाजनक यात्रा गर्न सक्नेछन्। साथै, यात्रु तथा उनीहरूको लगेज (ब्यागेज) नेपालबाटै अन्तिम गन्तव्यसम्म चेक–इन गरिने व्यवस्था गरिएको छ, जसले यात्रालाई झन्झटरहित बनाउनेछ।

यो सम्झौताले नेपाललाई अन्तर्राष्ट्रिय हबको रूपमा विकास गर्न योगदान दिने विश्वास गरिएको छ। नेपालभित्र पर्यटन प्रवर्द्धन गर्न र विदेशी पर्यटकलाई सहज रूपमा नेपाल ल्याउन यो सम्झौता महत्वपूर्ण कोशेढुंगा सावित हुने अनुमान गरिएको छ। अब विश्वभरका यात्रुहरू जापान एयरलाइन्समार्फत नेपाल आउने अवसर प्राप्त गर्नेछन्, जसले नेपालको पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप मजबुत बनाउनेछ।

नेपाल एयरलाइन्स र जापान एयरलाइन्सबीचको यो सहकार्यले हवाई यात्रामा नयाँ युगको सुरुवात गरेको छ। अब नेपाली आकाशमार्फत संसारभर उड्ने सपना अझै सहज र वास्तविक बन्नेछ!

बुधबार, ०७ फागुन २०८१, २१ : २२

प्रतिक्रिया