प्रजातन्त्र दिवसमा उज्यालो संसारको उपहार

विहीबार, ०८ फागुन २०८१, ०६ : ४१

काठमाडाैं- महोत्तरीको बर्दिबास नगरपालिका–५, चुरेकाछकी ७० वर्षीया सेतीमाया तामाङका लागि प्रजातन्त्र दिवस सधैंझैं झन्डा बोकेर ‘जिन्दावाद’ भन्ने दिनमात्र थियो। तर, यसपालि भने यो दिनले उनलाई कहिल्यै नबिर्सने खुसी प्रदान गर्‍यो। रोटरी क्लब अफ बर्दिबास, रोटरी क्लब अफ हेटौँडा र रोट्र्याक क्लब अफ हेटौँडाले आयोजना गरेको आँखा जाँच शिविरले सेतीमायासहित उनका गाउँका दर्जनौं ज्येष्ठ नागरिकलाई उज्यालो संसारको उपहार दिएको छ।

प्रजातन्त्र दिवसकै अवसर पारेर मङ्गलबार आफ्नै गाउँमा आँखा जाँच गराएकी सेतीमायाको बुधबार मोतियाविन्दुको सफल शल्यक्रिया भयो। “गाउँमै आएका डाक्टरले आँखाको जाँच गरेर अपरेसन गर्नुपर्छ भन्नुभयो। आज उहाँहरूकै सहयोगमा अपरेसन गराएर घरसम्म पु¥याइदिनुभएको छ,” सेतीमायाले खुशी व्यक्त गर्दै भनिन्, “अब पट्टी खोलिएपछि संसार झलमल्ल देख्नेछु।”

उनीजस्तै ७५ वर्षीया जुनुमाया आले, ७६ वर्षीया गोपीमाया धागा र ६० वर्षीया गङ्गामाया ठोकरको समेत बुधबार नै मोतियाविन्दुको शल्यक्रिया गरिएको छ। बर्दिबासका अन्य १७ जना ज्येष्ठ नागरिकको पनि हेटौँडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया सम्पन्न भयो। “अब फेरि संसार देख्न पाउने भएँ, बुढेसकालमा यसभन्दा ठूलो खुशी के नै हुन सक्छ?” गोपीमाया धागाले हर्ष व्यक्त गरिन्।

रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष विष्णु पुरीका अनुसार शिविरमा ३५० जनाको आँखा परीक्षण गरियो, जसमा १७ जनाको शल्यक्रिया गरिएको छ भने १०० भन्दा बढीलाई चस्मा र २०० जनालाई औषधि वितरण गरिएको छ। पछिल्ला १० वर्षदेखि आँखा समस्याबाट पीडित रहँदारहँदै पनि उपचार गर्न नसकेका धेरै व्यक्तिले यस शिविरबाट प्रत्यक्ष लाभ उठाएका छन्।

बर्दिबास–५ का वडाध्यक्ष काहरमान स्याङ्वाका अनुसार आर्थिक स्रोतको अभावमा उपचार गराउन नसक्ने विपन्न परिवारका सदस्यहरूका लागि यो शिविर एउटा महत्वपूर्ण संजीवनी बनेको छ। “आर्थिक अभावकै कारण ज्येष्ठ नागरिकहरू अन्धकारमा बाँच्न बाध्य थिए। प्रजातन्त्र दिवसको अवसरमा गरिएको यो सहयोग अत्यन्तै सराहनीय छ,” उनले भने।

यो महान कार्यलाई सफल बनाउन अष्ट्रेलियाको तस्मानियास्थित रोटरी क्लबका सदस्य डेभिड एक्स र एक्सले होडिङ लिमिटेडले आर्थिक सहयोग जुटाएको थियो। यस ऐतिहासिक पहलले प्रजातन्त्र दिवसलाई साँचो अर्थमा जनताको जीवनमा उज्यालो ल्याउने पर्वका रूपमा स्थापित गरिदिएको छ।

 

विहीबार, ०८ फागुन २०८१, ०६ : ४१

प्रतिक्रिया