राष्ट्रिय प्रजातन्त्र दिवस: साउदी अरबको रियादस्थित नेपाली दूतावासमा विशेष समारोह

विहीबार, ०८ फागुन २०८१, ०७ : १५

काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा साउदी अरबको रियादस्थित नेपाली राजदूतावासले बुधबार भव्य समारोहको आयोजना गर्यो। नेपालको गौरवशाली राष्ट्रिय झन्डा फहराएर सुरु गरिएको उक्त कार्यक्रमले नेपाली समुदायबीच राष्ट्रप्रेम, लोकतान्त्रिक मूल्यमान्यता तथा सहिदहरूको बलिदानप्रति सम्मान अभिव्यक्त गर्यो।

साउदी अरबका लागि नेपालका राजदूत नरेशविक्रम ढकालले प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवन बलिदान दिनुभएका महान सहिदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठको योगदानलाई स्मरण गर्दै सहिदहरूको असल विचार र साहस भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने बताए।

दूतावासका अनुसार, राष्ट्रिय गानबाट प्रारम्भ भएको समारोहमा लोकतन्त्रको महत्त्व र नागरिक अधिकारप्रति सचेतनाको आवश्यकता बारे चर्चा गरिएको थियो। राष्ट्रका लागि प्राण उत्सर्ग गर्नुभएका अमर सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा साउदी अरबमा कार्यरत नेपाली समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा दूतावासका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले नेपालमा स्थायित्व, समृद्धि तथा लोकतन्त्रको सुदृढीकरणका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका थिए।

उक्त अवसरमा, नेपाली संस्कृति, परम्परा तथा प्रजातान्त्रिक आन्दोलनका महत्त्वपूर्ण पक्षहरू उजागर गर्दै विविध कार्यक्रम प्रस्तुत गरियो। कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच मातृभूमिप्रतिको सम्मान र योगदानको भावना झनै प्रगाढ बनाएको सहभागीहरूले बताएका छन्।

विहीबार, ०८ फागुन २०८१, ०७ : १५

प्रतिक्रिया