काठमाडाैं- सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा कुल १,०८१ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना दर्ता भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले बुधबार आयोजित पत्रकार भेटघाटमा ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५’ सार्वजनिक गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीका अनुसार, २०२४ मा मानवअधिकार उल्लंघनका ११ घटनामा एक महिला र १० पुरुष गरी ११ जना पीडित भए। त्यस्तै, ज्यादतीका १,०७० घटनामा १,०९४ महिला तथा ३४ पुरुष गरी कुल १,०८८ जना पीडित भए।
राज्य पक्षबाट भएका घटनाहरूमा कुटपिटका २, गिरफ्तारीका ६, जेलभित्र मृत्यु १, हिरासतमा मृत्यु १, तथा अमानवीय व्यवहारको १ घटना दर्ता भएको छ। यी घटनामा कुल ११ जना पीडित बनेका छन्।
गैह्र-राज्य पक्षबाट भएका घटनाहरूमा कुटपिट तथा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका ९, घाइते ११, बालअधिकार हनन १०५, जातीय विभेद ३, महिला अधिकार उल्लंघन ९४७, अमानवीय व्यवहार २, कुटपिट ८ तथा धम्कीका ३ घटना दर्ता भएका छन्।
संयोजक जोशीका अनुसार, २०२३ को तुलनामा २०२४ मा पीडितको सङ्ख्या १०२ ले घटेको छ। तथ्यांकअनुसार, अघिल्लो वर्षको तुलनामा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा केही सुधार देखिए पनि अझै पनि महिला तथा बालबालिकामाथि हुने घटनाहरू उच्च रहेको देखिन्छ।
इन्सेकले मानवअधिकार संरक्षणका लागि सबै पक्षको सहभागिता आवश्यक रहेको भन्दै सम्बद्ध निकायलाई गम्भीर कदम चाल्न आग्रह गरेको छ।
प्रतिक्रिया