भारतकाे केआइआइटी छात्रावासमा मृत भेटिएकी प्रकृति लम्साललाई भावपूर्ण विदाई

विहीबार, ०८ फागुन २०८१, ०७ : ३५

काठमाडाैं- भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को छात्रावासमा मृत अवस्थामा फेला परेकी भैरहवाकी २१ वर्षीय प्रकृति लम्साललाई अन्तिम विदाई दिइएको छ।

बुधबार साँझ भारतबाट उनको पार्थिव शरीर भैरहवा ल्याइएपछि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पतालको शवगृह (मर्चरी) मा केही समय राखिएको थियो। उनका पिता सुनिल लम्साल भैरहवा पुगेपछि शवलाई घर ल्याएर अन्तिम श्रद्धाञ्जली अर्पण गरियो। त्यसपछि स्थानीय स्वर्गद्वारीघाटमा मध्यराति विधिपूर्वक अन्त्येष्टि गरियो।

लम्सालको अन्तिम संस्कारमा भैरहवावासीको उल्लेखनीय उपस्थिति रह्यो। छोरी गुमाएको पीडाले शोकाकुल परिवारका सदस्यहरू भावविह्वल थिए, भने स्थानीय बासिन्दा, आफन्त, साथीभाइ तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।

केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत लम्सालको भारतको ओडिशास्थित छात्रावासमा शव फेला परेको थियो। उनको मृत्युको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

यो दर्दनाक घटनाले परिवार, आफन्त तथा भैरहवावासीलाई गहिरो स्तब्ध बनाएको छ।

विहीबार, ०८ फागुन २०८१, ०७ : ३५

प्रतिक्रिया