काठमाडाैं- नेपाली नागरिकहरूलाई सहज र प्रभावकारी कन्सुलर सेवा प्रदान गर्ने उद्देश्यले ओटावास्थित नेपाली दूतावासले हालै ब्रिटिस कोलम्बिया प्रान्तको सरेमा मोबाइल कन्सुलर क्याम्प सञ्चालन गर्यो। हिन्दू बौद्ध फाउन्डेसन अफ क्यानडा, नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया, गैरआवासीय नेपाली संघ (NRNA) क्यानडा लगायत विभिन्न सामुदायिक संस्थाहरूको सहकार्यमा सम्पन्न उक्त शिविरले नेपाली समुदायलाई प्रत्यक्ष लाभ पुर्याएको छ।
शिविरमा विशेष गरी ब्रिटिस कोलम्बिया, सास्काचेवान, मनिटोबा र अल्बर्टा प्रान्तमा रहेका नेपाली नागरिकहरू तथा विद्यार्थीहरूलाई राहदानी नवीकरण र अन्य कन्सुलर सेवा प्रदान गरियो। नेपाली दूतावासले लामो समयदेखि समुदायको पहुँचलाई सहज बनाउने उद्देश्यले विभिन्न प्रान्तहरूमा मोबाइल शिविर सञ्चालन गर्दै आएको छ।
शिविरकै क्रममा दूतावासले भ्यानकुभरस्थित नेपाली उद्यमीहरूसँग विशेष छलफल कार्यक्रम पनि आयोजना गर्यो। क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले नेपाली व्यवसायीहरूलाई आफ्नो विशिष्ट सीप, विशेषज्ञता र सम्भावनाहरूलाई मातृभूमिको समृद्धिमा योगदान दिन आग्रह गरे।
राजदूत पौड्यालले नेपाल सरकारले पछिल्लो समय नीतिगत सुधारहरू लागू गर्दै लगानीमैत्री वातावरण निर्माण गरिरहेको जानकारी गराउँदै नेपाल-क्यानडा व्यापार प्रवर्द्धन, प्रविधि आदानप्रदान तथा लगानी विस्तार गर्न आग्रह गरे।
मोबाइल कन्सुलर शिविरबाट प्रत्यक्ष लाभान्वित भएका नेपाली नागरिकहरू, विशेष गरी विद्यार्थी र उद्यमीहरूले दूतावासको यस पहलको उच्च प्रशंसा गरेका छन्। उनीहरूले यस्तो सेवा आगामी दिनहरूमा अन्य प्रान्तहरूमा पनि निरन्तर रूपमा उपलब्ध गराउनुपर्ने माग राखेका छन्।
नेपाल सरकार र नेपाली दूतावासद्वारा प्रवासी नेपाली समुदायलाई लक्षित गर्दै गरिएको यस्तो महत्वपूर्ण कदमले क्यानडामा रहेका नेपालीहरूलाई थप सहजता प्रदान गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया