केआईआईटी कलेजमा नेपाली विद्यार्थी आन्दोलनपछि ‘हेल्प डेस्क’ गठन, दोषीहरू पक्राउ

विहीबार, ०८ फागुन २०८१, ०८ : ३४

काठमाडाैं- भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थीको आन्दोलनपछि विश्वविद्यालय प्रशासनले ‘हेल्प डेस्क’ गठन गरेको छ। नेपाली विद्यार्थीहरूका मागलाई सम्बोधन गर्न आईएएस तथा उच्च शिक्षा निर्देशक कालीप्रसन्न मोहोपात्राको नेतृत्वमा ९ सदस्यीय सहायता कक्ष स्थापना गरिएको छ। विश्वविद्यालयले जारी गरेको विज्ञप्तिअनुसार यो सहायता कक्ष नेपाली विद्यार्थीहरूको समस्या समाधान तथा सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले गठन गरिएको हो।

फागुन ४ गते केआईआईटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणलाई लिएर नेपाली विद्यार्थीहरूले कलेज प्रशासनविरुद्ध आन्दोलन गरेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार, एक युवाको दुर्व्यवहार सहन नसकेर प्रकृतिले आत्महत्या गरेकी थिइन्। तर, न्यायको माग गर्दै उठेका विद्यार्थीहरूलाई उल्टै कलेज प्रशासनले लखेटेको घटनाले आक्रोश फैलिएको थियो। सर्वत्र विरोधपछि कलेज प्रशासनले गल्ती स्वीकार्दै नेपाली विद्यार्थीहरूलाई पुनः कलेज फर्किन आग्रह गरेको थियो।

प्रकृतिको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रशासनका ३ सहित ६ जना पक्राउ परिसकेका छन्। कानुनी कारबाही अघि बढाउन भारतीय अधिकारीहरू तत्पर रहेको जनाइएको छ। यसैबीच, स्वर्गीय प्रकृति लम्सालको पार्थिव शरीर नेपाल ल्याएर विधिपूर्वक अन्त्येष्टि गरिएको छ। न्यायको माग गर्दै नेपाली विद्यार्थी तथा अभिभावकहरूले दोषीलाई कडा सजाय दिनुपर्ने आवाज उठाइरहेका छन्।

विदेशी विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको विषयलाई यो घटनाले थप गम्भीर बनाएको छ। ‘हेल्प डेस्क’ गठनले विद्यार्थीहरूको सुरक्षामा कत्तिको प्रभाव पार्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित छ। नेपाली विद्यार्थीहरूका लागि दीर्घकालीन सुरक्षा रणनीति आवश्यक रहेको स्पष्ट भइसकेको छ, अब विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि कस्तो कदम चाल्छ भन्ने हेर्न बाँकी छ।

विहीबार, ०८ फागुन २०८१, ०८ : ३४

प्रतिक्रिया