काठमाडाैं- भारतको बीमा नियामक एवं विकास प्राधिकरण (IRDAI) ले बीमा शुल्क भुक्तानीमा अनावश्यक ढिलाइ गरेको भन्दै युआइबी इन्स्योरेन्स ब्रोकर्स (इन्डिया) प्राइभेट लिमिटेडलाई भारू १ करोड ६० लाखको जरिवाना लगाएको छ। पुनर्बीमा शुल्क समयमै विप्रेषण नगरेको ठहर गर्दै नियामकले कम्पनीलाई कारबाहीस्वरूप यो दण्ड तय गरेको हो।
लन्डनस्थित युआइबी समूहसँग सम्बद्ध यो संस्था विश्वका शीर्ष १० पुनर्बीमा दलालहरूमध्ये एक हो। बीमा नियामकका अनुसार, युआइबीले बीमाशुल्क रकम पुनर्बीमक, सेडेन्ट्स र पुनर्बीमा दलालहरूलाई समयमा नपठाई अनावश्यक रुपमा ३६ दिनदेखि ११५१ दिनसम्म ढिलाइ गरेको पाइयो।
एशिया इन्स्योरेन्स पोस्टले सार्वजनिक गरेको रिपोर्टअनुसार, १५ दिनको स्वीकृत समयसीमाभन्दा बाहिर युआइबीको बक्यौता रकम भारू १ करोड ६२ लाखभन्दा बढी पुगेको थियो।
युआइबी इन्डियाले आफ्नो सफाइमा अन्तर्राष्ट्रिय लेनदेन प्रक्रियाको जटिलता, तेस्रो-पक्ष कागजातहरूमा निर्भरता र प्रशासनिक कारणहरूले ढिलाइ भएको दाबी गरेको छ। साथै, कम्पनीले आफ्नो खातामा जम्मा गरिएका रकमहरूमा कुनै ब्याज आर्जन नगरेको दाबी गर्दै आफूले आर्थिक फाइदा नलिएको जिकिर गरेको थियो।
तर, नियामकले यो तर्क अस्वीकार गर्दै भनेको छ, युआइबीले ब्याज कमाएको छैन भने पनि पुनर्बीमा सेवा प्रदायकहरूलाई भुक्तानी समयमै नगरिनु उनीहरूका लागि वित्तीय नोक्सानीकै कारण बन्यो। महीनौं, कतिपय अवस्थामा वर्षौंसम्म भुक्तानी नहुँदा पुनर्बीमाकर्ताहरूले ब्याज गुमाउनु परेको छ।
मार्श इन्डिया इन्स्योरेन्स ब्रोकर्सपछि अर्को ठूलो विदेशी बीमा दलालमाथि कारबाही गर्दै नियामकले कडा सन्देश दिएको छ। बीमा बजारमा पारदर्शिता कायम राख्न र वित्तीय अनुशासन बलियो बनाउन यस्तो कदम चालिएको प्राधिकरणले स्पष्ट पारेको छ।
बीमा बजारमा युआइबीमाथिको यो कारबाही पुनर्बीमा क्षेत्रका अन्य दलालहरूका लागि कडा चेतावनी बन्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया