समाचार टिप्पणी

राजाले ‘कु’ गरे भने को आउला काँध थाप्न ?

विहीबार, ०८ फागुन २०८१, १५ : १९

काठमाडौं - पूर्व राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशमा नेपाली जनताले आफूलाई साथ दिनुपर्ने जिकीर गरेका छन् । राजाले व्यवस्था विरुद्ध ‘कु’ गरे भने के होला ? आजका राजनीतिक दल र तिनले बनाएको व्यवस्था तथा संविधानको पक्षमा सडकमा  प्रदर्शन गर्न कति युवा आउलान ? यो प्रश्न प्रायः मानिसहरुले गर्ने गर्दछन् ।

मुलुक फेरि भिडन्तमा जाला वा चुपचाप मानिसहरु राजाको शासनलाई स्विकार गर्लान् ? सहज अनुमान गर्न गाह्रो छ । तर यति भन्न सकिन्छ दलहरुप्रति ‘खुचिङ्ग’ गर्ने जमात भने अनुमान गरेको भन्दा ठूलो भैसकेको छ । त्यसका विभिन्न पाटा पक्षहरु छन् । ती मध्ये मुलुकबाट युवा पलायन एक महत्वपूर्ण कारण हो । बसाइसराइ कुनै एउटा देशको मात्र समस्या होइन । बसाइसराइ आन्तरिक तथा बाह्य दुवै हुने गर्दछ ।

नेपालमा भने मानिसहरुमा देश छोड्ने प्रवृत्ति निकै बढेर गएको छ । अध्यागमन विभागले प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२२ मा नेपालबाट कुल २० लाख २५ हजार ४७६ यात्रु अन्य मुलुक गएका थिए। तीमध्ये १४ लाख २९ हजार ५४४ जना नेपाली थिए। त्यसै अवधिमा विदेशबाट नेपाल भित्रिने नेपालीचाहिँ १० लाख ३६ हजार ८८५ मात्र थिए। अर्थात्, विदेशिएकामध्ये ३ लाख ९२ हजार फर्किएनन्।

देशमा बसेर केही गर्ने वातावरण नभएको कारण नै वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या वर्षेनी बढ्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्येक दिनको प्रस्थान गर्ने यात्रुहरूको भिडलाई नियाल्दा सोचनीय अवस्था रहेको प्रतीत हुन्छ। तर देशका नीति निर्माताहरु यसबारेमा कति चिन्तित छन् , यसको कारणहरुको गहिराइमा कति पुगेका छन् ? यो आफैमा विचारणीय कुरा छ ।  

आजको विश्व विज्ञान, प्रविधि र सञ्चारले साँघुरिएको छ ।  मानिकसहरु बसाइ सर्नुका प्रमुख कारणहरूमा कठिन आर्थिक अवस्था, राजनीतिक अस्थिरता, वातावरणीय दुष्प्रभाव, जातीय, धार्मिक र लैंगिक असमानताजस्ता सामाजिक पक्ष, जनस्वास्थ्यका समस्या आदि मुख्य मानिन्छन्।

बसाइसराइमा आकर्षण गर्ने तत्वहरु (Pull Factors) र विकर्षण गर्ने तत्वहरु (Push Factors) जिम्मेवार हुन्छन् । आज नेपालमा आफ्नो थातथलो छोड्न बाध्य पार्ने तत्वहरु नै ज्यादा भएको कारण मानिसहरु देश छोडिरहेका छन् । आर्थिक अवसरहरूको सुलभता, स्थिर राजनीतिक व्यवस्था र स्वतन्त्रता, उच्च जीवनस्तर, पारिवारिक पुनरमिलन, शैक्षिक अवसरहरू, सुरक्षा, विश्वव्यापीकरण, सामाजिक सञ्जाल अनि सम्बन्धित देशका नीति र कानुनी प्रवाधान आदि कारणहरु रहेका पाइन्छन्।

नेपालको सन्दर्भमा उल्लिखित कारणहरूमध्ये कुनै न कुनै किसिमले नेपाली समाज दिग्भ्रमित रहेको देखिन्छ। आजभन्दा ४० वर्षअगाडिको अवस्था र वर्तमान अवस्थामा निकै नै फेरबदल भएको छ। २०६२/ ६३ को जनआन्दोलनपछि जन्मकेो पुस्ता आजको शासनबैलीबाट सन्तुष्ट छैन । उनीहरुले राजतन्त्रकालीन अवस्थाको अनुभव गर्न पाएनन् । अर्को कुरा आज व्यवस्था परिवर्तन भएपछिको देशको अवस्थाले आजका युवाहरुलाई आकर्षण गर्न सकिरहेको छैन । मानौं कसैले वर्तमान सत्ताका विरुद्ध विद्रोह गरेर नयाँ व्यवस्था ल्याइहाले पनि सशक्त प्रतिरोध हुने देखिदैन । 
 
आज नेपालीका मात्र हैन बहुसंख्यक मानव समुदायको सपनाको मुलुक संयुक्त राज्य अमेरिका धेरैको रोजाइ बनेको अध्ययनबाट देखिन्छ। विश्वभरबाट कुनै एक देशमा सम्पूर्ण मानव जाति बस्न किमार्थ सम्भव र सहज विषय होइन। तथापि अमेरिका बसाइसराइको प्रलोभनमा नेपालीहरूसमेत गैरकानुनी तवरले अमेरिका प्रवेश भएको देखिन्छ। विश्वभरका १४ लाख ४५ हजार ५ सय ४९ जना गैरकानुनी रूपमा अमेरिकामा रहेको र त्यसमा नेपालीहरू १ हजार ३६५ रहेको विवरण समाचारहरूमा सार्वजनिक भएको देखिन्छ।

अमेरिकी सत्तामाडोनाल्ड ट्रम्पको पुनरागमनसँगै आप्रवासी निष्कासनको सिलसिला चलेको खबरले विश्वभर सनसनी मच्चाएको छ।ट्रम्पको यो कदमले तत्कालका लागि केही मानिसहरुलाई असहज बनए पनि दीर्घकालीन रुपमा भने नेपाल जस्ता मुलुकहरुलाई फाक्ष्दा नै हुनेछ । किनभने मुलुकको सक्रिय जनसंख्याले आफ्नै देशमा पसिना बगाउनेछ । अमेरिका पनि त्यसै बनेको होइन । संसारभरिका युवाहरुको रगत र पसिनाले अमेरिकाले समृद्धी प्राप्त गरेको कुरा बिर्सनुहदैन । 

नेपालीहरुमा आफ्नै देशमा दुख गर्नुपर्छ भन्ने मानसिकताको विकास गर्न पनि जरुरी छ । त्यसमा सरकारले सहयोग गर्ने र वातावरण बनाइदिनुे काम गर्नुपर्दछ । आज आन्तरिक बसाइसराइको प्रक्रिया पनि तीव्र देखिन्छ। ग्रामीण परिवेशको निर्वाहमुखी कृषि प्रणाली अवसानतर्फ उन्मुख भएको छ। मानिसहरूले पेसा–व्यवसाय रूपान्तरण गरिरहेका छन्। वैदेशिक रोजगारीमा आकर्षण बढ्दै गएको छ। परम्परागत रूपमा वैदेशिक रोजगारीमा जाने प्रचलनमा केही आयामहरू परिवर्तन पनि भएका छन्।

गाउँघरमा मलामी जाने मानिस पाउन पनि मुश्किल भएको समाचार प्रशस्त हेर्न पाइन्छ । आन्तरिक बसाइसराइले गर्दा ग्रामीण खेतीयोग्य जमिन बाँझो भई जंगलमा रूपान्तरण भइरहेको छ। गाउँमा काम गर्ने जनशक्ति छैन ।  ग्रामीण क्षेत्रमा मानिसका न्यूनतम आवश्यकता विद्यालय, स्वास्थ्य चौकी, सडक र विषयगत कार्यालयहरूका पूर्वाधार बनेका छन्। राज्यको ठूलो धनराशि खर्च भई बनेका भौतिक पूर्वाधार प्रयोगविहीनजस्तै छन्। कतिपय संरचनाहरू खण्डहर हुने अवस्थामा छन्।

२०४६ पछि नेपालमा केही नभएको भन्न सकिदैन । पूर्वाधार, सञ्चार तथा शिक्षा लगायतको क्षेत्रमा केही उल्लेख्य उपलब्धी पनि भएका छन् । तर आजको विश्व परिवेश अनुसार प्रयाप्त उपलब्धी भने भएको छैन । त्यसमा जिम्मेवार राज्य तथा राजनीतिक दलहरु नै छन् । आज मुलुकको सामु रहेका समस्याहरू अशिक्षा, गरिबी, अन्धविश्वास, पछौटेपन, असहिष्णु व्यवहार र पलायन आदिलाई समाधान गर्न सरकारले नयाँ र ठोस कार्यक्रम ल्याउन सक्नुपर्दछ । त्यसको लागि मुलुकमा सुशासनकायम गर्ने र स्थायी सरकारको रुपमा रहेको निजामती सेवालाई जनमुखी बनाउन जरुरी छ । समाजको बौद्धिक वर्गले पनि सकारात्मकता र आशाको सन्देश दिने भूमिका निर्वाह गर्न सक्दछ। हाम्रो सञ्चार क्षेत्र पनि बढी नै नकारात्मकतामा रमायो किरु यसमा पनि समीक्षा आवश्यक छ।

विहीबार, ०८ फागुन २०८१, १५ : १९

प्रतिक्रिया