पोखरामा पहिलोपटक ‘नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५’ आयोजना हुने

विहीबार, ०८ फागुन २०८१, १९ : ४२

काठमाडाैं- नेपालको अटोमोबाइल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को सहकार्यमा ‘नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५’ पोखरामा आयोजना हुने भएको छ। आउँदो २०८१ सालको चैत्र १४ गतेदेखि १७ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा भव्य अटो शोको आयोजना गरिनेछ। यस सन्दर्भमा आयोजक संस्था वाडाले आजदेखि बुकिङ खुला गरेको छ।

यस भव्य प्रदर्शनी आयोजनाका लागि नाडाले २०८१ पौष २० गते काठमाण्डौमा आफ्नो संस्थागत (प्रदेश) सदस्य पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) का पदाधिकारी तथा सदस्यहरूबीच विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। प्रदर्शनीमा सहभागिता जनाउने सम्बन्धमा गरिएको सर्वेक्षणको आधारमा पहिलोपटक पोखरामा ‘वाडा अटो शो’ आयोजना गर्न लागिएको हो।

‘नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५’ मा दुई-पहिया, तीन-पहिया र चार-पहिया सवारी साधन, लाइट कमर्शियल तथा हेभी कमर्शियल सवारीसाधन, मेसिनरी इक्विपमेन्ट्स, वित्तीय संस्था, बीमा कम्पनीहरू, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणहरूलाई समुहअनुसार वर्गीकृत गरिनेछ। यस आधारमा नै इच्छुक व्यवसायी तथा संस्थाहरूले स्टल बुकिङ्ग गर्न सक्नेछन्।

वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाका अनुसार यो अटो शोले नेपाली अटोमोबाइल उद्योगमा नयाँ अवसरहरू सिर्जना गर्नुका साथै अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनामा विशेष योगदान पुर्‍याउनेछ। साथै, यस प्रदर्शनीले उद्योगी, व्यवसायी, कर्मचारी तथा आम उपभोक्ताहरूलाई नयाँ प्रविधिसँग परिचित गराउने महत्वपूर्ण मञ्च उपलब्ध गराउने अपेक्षा राखिएको छ।

यसै क्रममा नाडाले सम्भाव्यता अध्ययन गर्दै अन्य प्रमुख सहरहरूमा पनि प्रदेश एशोसिएशनहरू मार्फत अटो प्रदर्शनीको आयोजना गर्ने योजना अघि बढाइरहेको छ। नेपाली अटोमोबाइल उद्योगको प्रवर्द्धनमा कोसेढुंगा सावित हुने यो अटो शोमा सहभागिता जनाउन सम्पूर्ण सरोकारवालाहरूलाई आयोजक वाडाले हार्दिक आमन्त्रण गरेको छ।

विहीबार, ०८ फागुन २०८१, १९ : ४२

प्रतिक्रिया