काठमाडौं- नेपालको चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको नेपाल मेडिकल कलेजले आफ्नो स्थापनाको २५ औं वर्षगाँठ (रजत जयन्ती) भव्य रूपमा मनाउने घोषणा गरेको छ। कलेजले एक विज्ञप्ति जारी गर्दै आउँदो फागुन १३ गते विशेष समारोह आयोजना गरिने जनाएको छ, जसको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली रहनेछन्।
कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले ‘नेपाल र नेपालीका लागि नेपाली लगानी’ भन्ने नाराका साथ सन् २०५६ सालमा स्थापना भएको नेपाल मेडिकल कलेजले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, र अनुसन्धानमा महत्त्वपूर्ण उचाइ हासिल गरेको बताए।
रजत जयन्ती समारोहमा विशिष्ट अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानुनमन्त्री लगायत विभिन्न उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
रजत जयन्तीको अवसरमा विशेष कार्यक्रमहरू रजत जयन्तीको अवसरमा नेपाल मेडिकल कलेजले विभिन्न महत्वपूर्ण कार्यहरू गर्दैछ। यस अवसरमा कलेजको रजत जयन्ती स्तम्भ अनावरण, नवनिर्मित डेण्टल भवनको उद्घाटन, रजत जयन्ती स्मारिका लोकार्पण तथा संस्थापक सदस्यहरूलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ।
अध्यक्ष प्रा.डा. अन्सारीले चिकित्सा शिक्षामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै भने, "राज्यले तयार पारेको नीति, योजना, र कार्यक्रमहरूमा निजी क्षेत्रको सहकार्यकै कारण आज नेपालको चिकित्सा शिक्षा अन्तर्राष्ट्रिय स्तरमा समेत विश्वासिलो र सम्मानित बन्न सफल भएको छ।" उहाँका अनुसार स्वास्थ्य सेवातर्फ सरकारी क्षेत्रले ४० प्रतिशत योगदान पुर्याउँदा निजी क्षेत्रको योगदान ६० प्रतिशत रहेको छ, भने चिकित्सा शिक्षामा निजी क्षेत्रको योगदान ८० प्रतिशत पुगेको छ।
गुणस्तरीय स्वास्थ्य सेवामा नेपाल मेडिकल कलेजको अग्रणी भूमिका नेपाल मेडिकल कलेजले आधुनिक प्रविधिहरू आत्मसात् गर्दै अनुभवी विशेषज्ञ चिकित्सकहरूमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। जनरल स्वास्थ्य सेवाका साथै विशिष्टीकृत सेवा समेत सञ्चालन गर्दै आएको कलेजले नेपाल सरकार, विभिन्न निकाय, र स्थानीय तहसँग सहकार्य गरी सर्वसाधारणलाई स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गराइरहेको छ।
कलेजमा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, गोकर्णेश्वर नगरबासी स्वास्थ्य सेवा, विपन्न नागरिक उपचार कार्यक्रम सञ्चालनमा छन्। साथै, निःशुल्क क्यान्सर उपचार सेवा, हेमोडायलाइसिस सेवा, तथा विपन्न वर्गका लागि १० प्रतिशत निःशुल्क शैयाको व्यवस्था समेत गरिएको छ। कलेजको वार्षिक रिपोर्ट अनुसार, बहिरंग सेवाबाट झन्डै ३ लाख ५० हजार नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ भने, हरेक वर्ष करिब ४० हजार बिरामीहरूलाई अन्तरंग उपचार सुविधा दिइरहेको छ।
दक्ष स्वास्थ्यकर्मी उत्पादनमा ऐतिहासिक योगदान नेपाल मेडिकल कलेजले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। हालसम्म एमबिबिएसमा २,२६२ जना, बिडिएसमा ३३५ जना, एमडि/एमएस तथा एमडिएसमा ३२४ जना, सुपरस्पेशियालिटी अन्तर्गत डिएम एमसीएचमा ८ जना, तथा बीएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा २०८ जना दक्ष जनशक्ति उत्पादन गरिसकेको छ।
नेपाल मेडिकल कलेजको निरन्तर योगदानले नेपालका स्वास्थ्य सेवामा महत्त्वपूर्ण प्रभाव पार्दै आएको छ। आगामी दिनहरूमा पनि कलेजले उच्चस्तरीय चिकित्सा शिक्षा, अनुसन्धान, र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै चिकित्सा क्षेत्रमा नयाँ कीर्तिमान राख्ने विश्वास गरिएको छ।
प्रतिक्रिया