नेपाल नागरिक उडड्यन प्राधिकरणको कर्मचारी युनियन निर्वाचनमा तीव्र प्रतिस्पर्धा, ‘कुटनीतिक घम्साघम्सी’ चुलियो

विहीबार, ०८ फागुन २०८१, २० : २०

काठमाडौं- नेपाल नागरिक उडड्यन प्राधिकरणको आधिकारिक कर्मचारी युनियन निर्वाचनको अन्तिम दिन कडा प्रतिस्पर्धा देखिएको छ। विभिन्न संगठनहरूबीच रणनीतिक चालबाजी बढ्दै जाँदा चुनावी मैदान ‘कुटनीतिक घम्साघम्सी’ले भरिएको छ। स्रोतका अनुसार, नेपालगञ्जमा नियमित रुपमा आयोजना हुन लागेको उद्धार तथा अग्नि निवारण अभ्यासका लागि जान लागेका लोकतान्त्रिक कर्मचारी संघका दुई जना प्रभावशाली कर्मचारीलाई बोर्डिङ पास लिइसकेको अवस्थामा रोकिएको छ।

स्रोतले दाबी गरेअनुसार, ती कर्मचारीहरू नेपालगञ्ज निर्वाचनमा प्रभाव पार्न सक्ने आशंकाका कारण प्रतिस्पर्धी संगठनकै दबाबमा रोकिएको अनुमान गरिएको छ। एक उच्च स्रोतले भने, ‘आज राम्रै कूटनीतिक घम्साघम्सी देखियो, निषेध र रणनीतिक चालबाजी दुवै चलिरहेको छ, जसले निर्वाचनलाई थप रोचक बनाएको छ।’

यस निर्वाचनमा पाँचवटा कर्मचारी संघसंस्थाहरू प्रतिस्पर्धामा छन्। तीमध्ये तीन संगठनहरूबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। लोकतान्त्रिक कर्मचारी संघ, नेकपा एमालेनिकट कर्मचारी संगठन, माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठन प्रमुख दावेदारका रूपमा रहेका छन्। साथै, मधेश तराई कर्मचारी युनियन र कर्मचारी एकता मञ्चसमेत चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

लोकतान्त्रिक कर्मचारी संघको नेतृत्व गणेशप्रसाद भुसालले, कर्मचारी संगठनको नेतृत्व मीनप्रसाद खनालले तथा राष्ट्रिय कर्मचारी संगठनको नेतृत्व सुवास कोइरालाले गरिरहेका छन्। त्यस्तै, मधेश तराई कर्मचारी युनियनको नेतृत्व अनिल गुप्ता र कर्मचारी एकता मञ्चको नेतृत्व रतन दासले गरिरहेका छन्।

देशभरका ७ तह मुनिका ६१३ मतदाताले मतदान गर्ने तय भएको छ। यसैबीच, लुम्लिङटार, लुक्ला, र जोमसोममा आजै सम्पन्न निर्वाचनमा लोकतान्त्रिक कर्मचारी संघ अग्रस्थानमा रहेको स्थानीय मतदाताले बताएका छन्।

प्राधिकरणका कर्मचारीहरूबीच लोकतान्त्रिक कर्मचारी संघको लोकप्रियता उच्च देखिएको छ। मतदाताहरूका अनुसार, यस संघको नेतृत्वमा अदालती प्रक्रियामा गएको विषयलाई किनारा लगाएर आम कर्मचारीहरूलाई बोनस उपलब्ध गराउन सफल भएको कारण कर्मचारीहरू सकारात्मक देखिएका छन्।

त्यसैगरी, राष्ट्रिय सभाबाट पास भइसकेको प्राधिकरण विभाजन विधेयक रोक्न सफल हुनु, संस्थागत विकास, पेशागत हकहित, तथा कर्मचारीको वृत्ति विकासका सवालमा व्यवस्थापनसँग सम्झौता नगरी बलियो रूपमा आफ्ना मागहरू राख्न सक्नु लोकतान्त्रिक कर्मचारी संघको लोकप्रियताको प्रमुख कारण रहेको छ।

निर्वाचन नतिजा आउन बाँकी रहे पनि प्रारम्भिक संकेतले लोकतान्त्रिक कर्मचारी संघको अग्रता देखाएको छ। मतदानको अन्तिम घडीसम्म पनि चुनावी रणनीति, गठबन्धन, र रणनीतिक चालबाजीले चुनावी माहोल थप रोचक बनाइरहेको छ।
CAAN Karmachari Nirbachan-Chinha

विहीबार, ०८ फागुन २०८१, २० : २०

प्रतिक्रिया