काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डाइभरसिटी भिसा (डीभी) कार्यक्रम रोक्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत ट्रम्पलाई संबोधन गर्दै डीभी चिट्ठाको लोभ अन्त्य गर्न तथा संसारलाई स्वतन्त्र रूपमा अघि बढ्न दिन अनुरोध गरेका हुन्।
मेयर शाहले आफ्नो फेसबुक पोस्टमार्फत लेखेका छन्, “कृपया आफ्नो लोभ (डीभी) दासत्व पनि रोक्नुहोस्। हामी हाम्रा रत्नहरू फिर्ता ल्याउनेछौं। बाँकी संसारलाई तपाईंको देशमा आउन प्रतिबन्ध लगाउनुहोस् र संसारलाई अघि बढ्न दिनुहोस्।”
उनको यो अभिव्यक्ति पछिल्लो समय अमेरिका र नेपालको सम्बन्धबारे पुनर्विचार गर्ने सन्दर्भमा आएको हो। उनले नेपाल अमेरिका भन्दा राम्रो भएको कुरा महसुस गराइदिएको भन्दै ट्रम्पलाई धन्यवादसमेत दिएका छन्। शाहको भनाइमा, “प्रिय डोनाल्ड ट्रम्प, हाम्रो देश तपाईंको देशभन्दा राम्रो छ भन्ने कुरा महसुस गराइदिएकोमा धन्यवाद। हामी गरिब छौं, किनभने हाम्रा मानिसहरू देश छोडिरहेका छन्। तपाईंहरू गरिब हुनुहुन्छ, किनभने तपाईंका मानिसहरूले आफ्नो देश बनाउन सक्दैनन्। तपाईं अल्छीहरूलाई संसारकै सहाराको आवश्यकता छ।”
शाहको यो भनाइ अमेरिकाको आप्रवासन नीतिसँग सम्बन्धित छ। उनले नेपालबाट प्रतिभाशाली जनशक्ति बाहिरिनु देशकै लागि घाटाको विषय भएको बताएका छन्।
ट्रम्पले केही दिनअघि मात्र नेपाललाई दिइने अमेरिकी सहायता रोकिएको घोषणा गरेका थिए। अमेरिकी सरकारले संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर तथा जैविक विविधता संरक्षणका लागि विनियोजित १ करोड ९० लाख डलर रोकिएको जानकारी दिएको थियो। ट्रम्पले उक्त रकम रोक्ने निर्णय गर्दै यसलाई “ठगी” को संज्ञा दिएका थिए।
ट्रम्पको अभिव्यक्तिपछि मेयर शाहको प्रतिक्रियाले सामाजिक सञ्जालमा तरंग ल्याएको छ। नेपालका युवाहरूलाई आफ्नै देशको समृद्धिमा योगदान दिन प्रेरित गर्ने शाहको आह्वानले नयाँ बहसको जन्म दिएको छ। अब हेर्न बाँकी छ, अमेरिकी पक्षबाट यसबारे कुनै प्रतिक्रिया आउँछ कि आउँदैन।
प्रतिक्रिया