पाथीभरा केबलकार: उकालोमा झगडा, ओरालोमा विवाद!

शुक्रबार, ०९ फागुन २०८१, ०७ : ४९

काठमाडाैं- पाथीभरा क्षेत्रमा केबलकार तान्न नदिने समूह र तान्नैपर्ने भन्ने पक्षबीचको रस्साकस्सीले बिहीबार तिक्त रूप लिँदा १३ जना घाइते भएका छन्। केबलकारको तार जडान नहुँदै, मान्छेहरू आपसमा 'तार' भएर ठोक्किन पुगे।

जिल्ला प्रशासन कार्यालयका अनुसार 'नो केबलकार' पक्षको पदयात्रा प्रदर्शन र प्रहरीबीच तनाव चुलिँदा ११ जना सुरक्षाकर्मी, एक जना प्रदर्शनकारी र एक जना सर्वसाधारण अस्पताल भर्ना हुने अवस्थामा पुगेका छन्। प्रहरीले सात राउन्ड अश्रुग्यास प्रहार गरेपछि पाथीभरा क्षेत्र थुक निल्न नसकिने, न ओकल्न सकिने परिस्थितिमा फस्यो।

पूर्वघोषित कार्यक्रमअनुसार, 'नो केबलकार' समूहले पाथीभरा क्षेत्रमा उकालो चढ्दै विरोध प्रदर्शन गरिरहेका थिए। "आस्था माथि व्यापारको फन्दा स्वीकार्य छैन!" भन्दै उनीहरू अगाडि बढ्दै गर्दा प्रहरीको अवरोधसँग ठोक्किए। केबलकारको विरोध गर्दै हिँडेका पदयात्रीलाई रोकेपछि प्रदर्शन झडपमा परिणत हुन गयो।

कोणसभामा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम र पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले आन्दोलनकारीको जोशमा थप तेल हाल्ने काम गरे। उनीहरूले "पाथीभराको शिखरमा केबलकार होइन, आस्थाको डोरी चाहिन्छ!" भन्दै भावनात्मक भाषण दिए।

आईएमई ग्रुपले रू. ३ करोड लगानी गरेर केबलकार बनाउन थालेपछि ताप्लेजुङ दुई भागमा बाँडिएको छ- एक भाग 'केबलकार' तान्ने पक्षमा, अर्को भाग 'झगडा' तान्ने पक्षमा!

स्थानीयका अनुसार, केबलकार आएपछि पर्यटकको घुइँचो लाग्छ, व्यापार फस्टाउँछ भन्ने एउटा तर्क छ भने, पवित्रस्थलको मौलिकता गुम्छ भन्ने अर्को तर्क। तर, अहिले त विवादले नै पाथीभराको चिसो हावालाई तात्तातो बनाइदिएको छ।

अब पाथीभरा क्षेत्र 'केबलकार' को उचाइमा पुग्छ कि झगडाकै गहिराइमा डुब्छ? त्यो हेर्न बाँकी छ!

शुक्रबार, ०९ फागुन २०८१, ०७ : ४९

प्रतिक्रिया