महाशिवरात्रि पर्व: पशुपति क्षेत्रमा उच्च सुरक्षा तयारी, समन्वयात्मक सुरक्षा योजना लागू

शुक्रबार, ०९ फागुन २०८१, ०८ : २३

काठमाडौं- हिन्दू धर्मावलम्बीहरूको पवित्र महापर्व महाशिवरात्रि नजिकिँदै गर्दा पशुपति क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। पशुपति क्षेत्र विकास कोषले विभिन्न सुरक्षा निकायबीच समन्वय गर्दै दर्शनार्थीहरूको सुरक्षाका लागि व्यापक योजना लागू गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका उच्च अधिकारीहरूबीच बसेको बैठकले मेला क्षेत्र, दर्शनमार्ग तथा तीर्थयात्रीहरूको सहज आवागमन सुनिश्चित गर्न विशेष सुरक्षा योजना ल्याएको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए।

दर्शनमार्गमा सुरक्षालाई चुस्त बनाउन भकुण्डोलस्थित भण्डारी गुठीघरको पार्कमा प्रहरी मूल शिविर स्थापना गरिनेछ। साथै, नियन्त्रण कक्ष पनि सञ्चालन हुनेछ, जसमा अत्याधुनिक सञ्चार सेट उपलब्ध रहनेछ।

तीर्थयात्रीहरूको सहजता एवं सुरक्षा सुनिश्चित गर्न विभिन्न महत्वपूर्ण स्थानहरूमा नेपाल प्रहरीका सबकमाण्ड पोस्टहरू स्थापना गरिनेछन्। यी पोस्टहरू गोरखनाथ, सिफल, तिलगङ्गा, वनकाली, कैलाश, राम मन्दिर, उमाकुण्ड, वेदविद्याश्रम, चार शिवालय र घाट क्षेत्रमा रहनेछन्।

सशस्त्र प्रहरी बलको मूल शिविर भुवनेश्वरी (नासल चोक) मा रहनेछ, जसले अन्य क्षेत्रमा सबकमाण्ड पोस्टहरूसहित संयुक्त सुरक्षा व्यवस्था मिलाउनेछ।

कोषका अनुसार फागुन १२ गते बिहान ६ बजेदेखि फागुन १५ गते दिउँसो ३ बजेसम्म प्रभावकारी संयुक्त सुरक्षा योजना लागू हुनेछ। यस अवधिमा पशुपति क्षेत्रभित्र कडा निगरानी, भीड व्यवस्थापन र सुरक्षा निगरानी प्रविधि प्रयोग गरिनेछ।

भक्तजनहरूको सुविधाका लागि आवास, भोजनस्थल, जुत्ता-चप्पल व्यवस्थापन कक्षहरू गोरखनाथ, सिफल, तिलगङ्गा, वनकाली, कैलाश, राममन्दिर, उमाकुण्ड, वेदविद्याश्रम, चार शिवालय र घाट क्षेत्रमा स्थापना गरिनेछन्।

यस विशेष सुरक्षात्मक योजनाले महाशिवरात्रि पर्वलाई व्यवस्थित, सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ। पशुपति क्षेत्रको भव्यता एवं भक्तजनहरूको श्रद्धालाई थप सुरक्षित र मर्यादित बनाउन सुरक्षा निकाय पूर्णरूपमा सक्रिय हुनेछन्।

शुक्रबार, ०९ फागुन २०८१, ०८ : २३

प्रतिक्रिया