ताप्लेजुङको पाथीभरा क्षेत्रमा चालक कुटपिटको विरोधमा अनिश्चितकालीन यातायात बन्द

शुक्रबार, ०९ फागुन २०८१, ०९ : ३८

काठमाडाैं- पाथीभरा क्षेत्रमा भएको चालक कुटपिटको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले शुक्रबारदेखि अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेको छ। यातायात व्यवसायीहरूले मेची राजमार्ग, तमोर कोरिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका तथा शाखा सडकहरूमा सवारी सञ्चालन रोक्ने निर्णय गरेका छन्।

पाथीभरा केबलकारको निर्माणाधीन बेस स्टेसन क्षेत्रमा उत्पन्न विवादपछि बिहीबार ‘नो केबलकार’ पक्षधरहरू आन्दोलनरत बनेका थिए। घाइतेहरूको उद्धार तथा उपचारका लागि गएको फुङलिङबाट काफ्लेपाटी हुँदै पाथीभरा जाने सवारी साधनमाथि आन्दोलनकारीहरूले आक्रमण गर्दै चालकलाई कुटपिट गरेका थिए।

आक्रमणमा घाइते भएका मे.१ ज २५७९ नम्बरका सवारी चालक ४३ वर्षीय राजकुमार पौडेललाई ताप्लेजुङ जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि बाहिरी जिल्ला रेफर गरिएको छ। जिल्ला अस्पतालका डाक्टर प्रणाम जैरुले पौडेलको गम्भीर अवस्थाका कारण बाहिर पठाइएको जानकारी दिए।

पाथीभरा यातायात सेवा प्रालिले ताप्लेजुङ, पाँचथर, इलाम, र झापाका संयोजकहरूद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही, घाइतेहरूको उचित उपचार, तथा तोडफोडमा परेको सवारी साधनको मर्मतको माग गरेका छन्। ती माग पूरा नभएसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन बन्द गरिने चेतावनी दिइएको छ।

मुक्कुमलुङ पदयात्राको अन्तिम दिन बिहीबार केबलकार विरोधीहरू निर्माणाधीन बेस स्टेसनतर्फ अघि बढेपछि स्थिति तनावग्रस्त बनेको थियो। झडपका क्रममा १३ जना घाइते भएका छन्, जसमा ११ सुरक्षाकर्मी, १ आन्दोलनरत व्यक्ति, र १ सर्वसाधारण छन्। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको थियो।

क्षमा पूजाका क्रममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकेन्द्रसिंह थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेन लगायतका नेताहरू पुगेको प्रशासनले जनाएको छ। भाषणपछि आन्दोलनकारीहरूले सुरक्षाकर्मीको घेरा तोडेर ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

रातिको समयमा केबलकार निर्माणस्थलमा रहेको स्काभेटरलाई काफ्लेपाटीसम्म फर्काइएको छ। आन्दोलनकारीहरूले निर्माण उपकरण हटाउनुपर्ने माग राख्दै कामदारहरू फिर्ता गरिनुपर्ने अडान लिएका छन्। हाल स्काभेटरलाई पर्यटक प्रहरी सहायता केन्द्रको नियन्त्रणमा राखिएको छ।

ताप्लेजुङमा बढ्दो तनावले स्थानीय जनजीवन प्रभावित बनाएको छ। यता प्रशासनले स्थिति नियन्त्रणमा लिन थप कडा कदम चाल्न सक्ने संकेत दिएको छ।

शुक्रबार, ०९ फागुन २०८१, ०९ : ३८

प्रतिक्रिया