माैसम पूर्वानुमान

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै : पहाडी भेगमा आंशिकदेखि सामान्य बदली, कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

शनिबार, १० फागुन २०८१, ०६ : २६

काठमाडौं- देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले विशेष गरी पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली छाएको छ भने अन्य भूभागमा आकाश खुल्ने क्रम जारी छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहँदा अन्य भूभागमा आंशिक बदलीदेखि मौसम खुल्दै जानेछ। यद्यपि, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।

रातिको समयमा पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा आकाश खुलेर चिसो मौसम कायम रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरूको सुझाव छ।

महाशाखाले विशेष गरी कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने चेतावनी दिएको छ।

अचानक बदलिन सक्ने मौसमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी पहाडी तथा हिमाली क्षेत्रका बासिन्दाले चिसोबाट बच्न न्यानो लुगाको प्रयोग गर्न तथा यात्रुहरूले सडक तथा हवाई यात्रामा सतर्कता अपनाउनुपर्ने महाशाखाले सुझाव दिएको छ।

शनिबार, १० फागुन २०८१, ०६ : २६

प्रतिक्रिया