माैसम पूर्वानुमान

देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

आइतबार, ११ फागुन २०८१, ०७ : १८

काठमाडौं- हाल देशभरि पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको पछिल्लो मौसम बुलेटिनअनुसार, आज कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ।

तराईका केही स्थानमा बिहान र रातको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।

आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाका लागि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना रहेको हुँदा विभागले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने चेतावनी दिएको छ। यसबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आइतबार, ११ फागुन २०८१, ०७ : १८

प्रतिक्रिया