नौ वर्षपछि कार्यान्वयन चरणमा पिप्ले-भगवती खानेपानी आयोजना

आइतबार, ११ फागुन २०८१, ०८ : २५

काठमाडाैं- म्याग्दीको बहुप्रतिक्षित पिप्ले-भगवती खानेपानी आयोजना अन्ततः कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। रघुगङ्गा गाउँपालिका–२ र ३ का दुई हजार चार सयभन्दा बढी घरपरिवारलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित नौ वर्षअघि प्रस्ताव गरिएको यो आयोजना संघीय सरकारको वार्षिक कार्यक्रममा समावेश भए पनि कार्यान्वयन नहुने अन्योलमा थियो।

आर्थिक वर्ष २०७३/७४ देखि संघीय सरकारको वार्षिक कार्यक्रममा समावेश भएको यस आयोजना अर्थ मन्त्रालयले चालु आव २०८१/८२ मा बहुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चित गरेपछि अघि बढेको हो। सांसद खमबहादुर गर्बुजा (खम्बिर)का अनुसार चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन भइसकेको छ भने अर्थ मन्त्रालयले रु १० करोडको स्रोत सुनिश्चित गरेर बहुवर्षीय ठेक्काका लागि सहमति प्रदान गरेको छ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्का आह्वानको तयारी गरिरहेको छ। सांसद गर्बुजाका अनुसार गत वर्ष रु ३७ करोडको स्रोत सुनिश्चित भएपछि पिप्ले-भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश भएको थियो। त्यस्तै, बेनी नगरपालिकाका चार वटा र रघुगङ्गा गाउँपालिकाका दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुने घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ।

सन् २०२२ मा गरिएको सर्वेक्षणअनुसार पिप्ले-भगवती खानेपानी आयोजनाको अनुमानित लागत रु ३७ करोड ३७ लाख रहेको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भइसकेपछि बहुवर्षीय ठेक्का आह्वान गर्न स्रोत सुनिश्चितता आवश्यक थियो, जुन अब पूरा भइसकेको छ।

आयोजनाका प्रमुख सुनम थापाका अनुसार चार प्याकेजमा बाँडेर कार्यान्वयन गरिनेछ। चालु आवमा रु १० करोड बजेट बराबरको कार्यका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ भने बाँकी तीन प्याकेजका लागि आगामी वर्ष बजेट व्यवस्थापन गरी कार्यान्वयन गरिने योजना छ।

रघुगङ्गा गाउँपालिका–७ चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने खालीखोलाबाट पिप्ले र भगवतीका शिरसम्म पानी ल्याइनेछ। मुख्य ट्याङ्की रुइसेडाँडामा रहनेछ भने ३० किलोमिटर लामो मुख्य पाइपलाइनमार्फत पानी ढुवानी गरिनेछ। यस आयोजनाबाट दुई हजार चार सय १६ घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर नवीन सुवेदीले जानकारी दिए।

संघीय सरकारको ९० प्रतिशत र उपभोक्ताको १० प्रतिशत लागत साझेदारीमा आयोजना निर्माण गरिनेछ। उपभोक्ताको तर्फबाट रु १० लाख आवश्यक पर्ने बजेट व्यवस्थापन भइसकेको छ। रघुगङ्गा गाउँपालिका–२ भगवतीका वडाध्यक्ष अमृत भण्डारीका अनुसार उपभोक्ताले आवश्यक रकम खातामा जम्मा गरिसकेका छन्।

पिप्ले र भगवती म्याग्दीका सबैभन्दा बढी जनघनत्व भएका बस्तीहरू हुन्। पानीका पुराना मुहानहरू सुक्दै गएका कारण खानेपानी अभाव गहिरिँदै गएको थियो। अब चिमखोलाबाट ल्याइएको पानीलाई हालका ट्याङ्की र पाइपलाइनमार्फत प्रत्येक घरमा वितरण गरिनेछ।

आइतबार, ११ फागुन २०८१, ०८ : २५

प्रतिक्रिया