फाेटाे : रासस
काठमाडाैं- पोखरा फेरि महोत्सवमय बन्दैछ। एकपछि अर्को भव्य आयोजनाले चलायमान बनेको पर्यटकीय नगरी फागुन १५ देखि १८ गतेसम्म १२औँ नेपाल साहित्यिक महोत्सवको स्वागत गर्दै छ। फेवातालको छायाँमा, माछापुच्छ्रे–अन्नपूर्ण हिमशृङ्खलाको साक्षी रहँदै, बुकवर्म फाउन्डेसनद्वारा आयोजित महोत्सवमा दुई सयभन्दा बढी देश–विदेशका साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारहरू विचार मन्थन गर्न जुट्दै छन्।
साहित्य मात्र होइन, यो महोत्सव राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमा लगायतका विविध क्षेत्रका विषयमाथि गहिरो बहसको थलो बन्नेछ।
पोखरा महानगरपालिकाले फागुन ३ गते मात्र पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गरेको थियो, जसको लक्ष्य करिब २० लाख पर्यटक भित्र्याउनु हो। यस सन्दर्भमा, नेपाल साहित्य महोत्सव पर्यटन प्रवर्द्धनका लागि अर्को महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ। पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईका अनुसार, “यस महोत्सवले साहित्य, संस्कृति र पर्यटनको संयोजनमार्फत पोखराको पहिचानलाई विश्वभर फैलाउनेछ र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउनेछ।”
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने भन्छन्, “पोखरा गतिविधिले भरिएको सहर हो। साहित्य महोत्सवले पोखराको सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउनेछ र पर्यटकलाई नेपाली साहित्य र संस्कृतिको आकर्षण प्रदान गर्नेछ।” महोत्सवले विदेशी प्रख्यात लेखक र साहित्यकारलाई पोखरासँग जोड्ने मौका दिने भएकाले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
पोखरा महानगरपालिका पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमलरञ्जन कार्कीका अनुसार, पोखरा केवल प्राकृतिक सौन्दर्यको केन्द्र मात्र नभई, विविध सांस्कृतिक तथा बौद्धिक गतिविधिको प्रमुख थलोका रूपमा स्थापित भइरहेको छ। “लिटरेचर फेस्टिभल पर्यटन वर्ष २०२५ को अभिन्न अङ्गका रूपमा रहनेछ,” उनले बताए।
पत्रकार भरत कोइरालाका अनुसार, “लेखक र पाठकबीचको अन्तरक्रिया, पुस्तक विमोचन, साहित्यिक चर्चाहरूले पोखरालाई साहित्यिक पर्यटनको केन्द्र बनाउने सम्भावना बढाउनेछन्।” साथै, महोत्सवले समाजमा साहित्य, कला र संस्कृतिबाट सकारात्मक सन्देश फैलाउने अवसर प्रदान गर्नेछ।
कार्यकारी निर्देशक नीरज भारीका अनुसार, यस वर्षको फेस्टिभलमा ५० भन्दा बढी सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र रचनात्मक गतिविधिहरू समावेश गरिनेछन्। नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता, ‘लिच एण्ड अदर स्टोरीज’ माथि संवाद, प्राध्यापक महेन्द्र पी लामाको विद्वत प्रवचन, मनिषा कोइरालासँगको संवाद, राजेश हमालको पुस्तक लोकार्पण जस्ता महत्वपूर्ण सत्रहरू रहनेछन्।
निर्देशक अजित बराल भन्छन्, “नेपाल लिटरेचर फेस्टिभलले पोखराको सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। साहित्य र पर्यटनबीचको संयोजनले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिएको छ।”
महोत्सवमा प्रोजेक्ट सारङ्गी र सोनागी ब्लुज जस्ता समूहहरूले परम्परागत र समकालीन सङ्गीतको मिश्रण प्रस्तुत गर्नेछन्। साथै, लोक चित्रकारहरूको चित्रकला प्रदर्शनीले संस्कृति र कलाप्रेमीहरूलाई आकर्षित गर्नेछ।
नेपाल साहित्य महोत्सवले पोखराको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। साहित्यिक तथा सांस्कृतिक विविधतासहित पोखराको महोत्सवमय माहोलले पर्यटकलाई छुट्टै अनुभव दिनेछ।
प्रतिक्रिया