AI जेनेरेट फाेटाे
काठमाडाैं- बागलुङको बरेङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा बसाइँसराइको दर तीव्र रूपमा बढ्दै गएको छ। गाउँ छोडेर शहर झर्ने लहर व्यापक बनेपछि बस्तीहरू सुनसान हुँदै गएका छन् भने खेतीयोग्य जमिनमा झाडी पलाउन थालेका छन्।
बरेङ गाउँपालिकाका सूचना अधिकारी केशवराज क्षेत्रीका अनुसार पछिल्लो दुई वर्षमा ३४७ परिवारका १,२८० जनाले गाउँ छोडिसकेका छन्। स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, यातायातजस्ता पूर्वाधार विस्तार गर्दै आए पनि गाउँलेहरूलाई रोक्न सफल भएको छैन। चालु आर्थिक वर्षको सात महिनामा मात्र २१० जनाले गाउँ छाडेका छन्।
साउनयता मात्रै ५५ परिवारले बसाइँसराइ गरी अन्यत्र गइसकेका छन्। यस वर्ष सबैभन्दा धेरै वडा नं. १ धुल्लुबास्कोटबाट १३ घरपरिवारका ५८ जना तथा सबैभन्दा कम वडा नं. ५ सुखौराबाट ६ घरपरिवारका २० जनाले गाउँ छोडेका छन्। त्यस्तै, पछिल्लो दुई वर्षमा ४० परिवारका १३१ जना भने अन्यत्रबाट बरेङ फर्किएका छन्।
गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माका अनुसार जनताको आधारभूत आवश्यकता पूरा गर्दै गुणस्तरीय सेवा प्रवाहमा स्थानीय सरकार लागिपरेको छ। बस्ती–बस्तीसम्म सडक सञ्जाल विस्तार, खानेपानी, विद्युत् र स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिए पनि बसाइँसराइ रोक्न नसकिएको उहाँ बताउनुहुन्छ।
गाउँपालिकाले एकीकृत बस्ती बसालेर नागरिकको जीवनस्तर उकास्ने योजना अघि बढाए पनि सफलता मिल्न सकेको छैन। युवालाई लघुउद्यम र घरेलु उद्योगमा संलग्न गराउँदै स्वरोजगार बनाउने पहल भए पनि अपेक्षित परिणाम नआएको अध्यक्ष शर्माको भनाइ छ।
अध्यक्ष शर्माले भने, “हामीले गाउँमा सडक, शिक्षा, स्वास्थ्यजस्ता सुविधा पुर्यायौँ। युवालाई रोजगारसँग जोड्ने पहल गर्यौँ, तर पनि बसाइँसराइ रोक्न सकिएन। बगाले भन्ने ठाउँमा पहिले करिब २० घर थिए, अहिले त्यो टोल नै खाली भइसकेको छ।”
बरेङबाट धेरैजसो स्थानीय चितवन, रुपन्देही, नवलपरासी, पोखरा लगायतका क्षेत्रमा बसाइँसराइ गर्दै गएको बताइन्छ। स्थानीय सरकारले बसाइँसराइको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउनुपर्ने आवाज उठ्न थालेको छ। यदि यो प्रवृत्ति यथावत् रह्यो भने बरेङ जस्ता ग्रामीण क्षेत्रहरू झन् वीरान बन्ने खतरा देखिन्छ।
प्रतिक्रिया