काठमाडौं - नेत्रविक्रिम चन्द ‘विप्लव’ नेपाल कम्युनिष्ट पार्टीका महासचिव हुन । उनी माओवादी घटकमध्ये चर्चित र गतिशील नेता मानिन्छन् । उनी आफ्नो पार्टीलाई आफ्नै बलबुतामा चलाउने योजनाकासाथ अघि बढेका छन् । चन्दा मागेर खाने हबिगतबाट पार्टीलाई आत्मनिर्भर बनाउन लागेका विप्लवले देशका विभनन भागमा अन्न उत्पादन गरिरहेका छन् । अहिले उनी स्याउका बिरुवा रोप्न जुम्ला पुगेका छन्।
पार्टीले स्थापना गरेको बगैंचामा बिरुवा रोप्न उनी जुम्ला गएका हुन्। शुक्रबार उनी जुम्ला पुगे पनि आज बगैंचा स्थापना भएको घोषणा गर्ने कार्यक्रम रहेको छ। चार दिनदेखि सुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई उनले शनिबार सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा विप्लवले उत्पादनका क्रियाकलापमा जोडिन कार्यकर्तालाई निर्देशन दिए। उनी दुई दिनदेखि जुम्लाको हिमा गाउँपालिका(७ धाँचु गाउँमा छन्। विप्लवलाई नेकपा जुम्लाका नेता कार्यकर्ता र जनताले बाजागाजा र फूलमाला लगाइदिएर स्वागत गरेका थिए।
यसअघि हिमा गाउँपालिकाको हाडुल्यामा झण्डै १० हजार स्याउका बिरुवा रोपिएको थियो। जसमध्ये ७० प्रतिशत स्याउका बिरुवा हुर्किसकेका छन् । उतिबेला पनि स्याउ रोप्न महासचिव विप्लव जुम्ला पुगेका थिए।विप्लवले कृषि उत्पादनले मात्र देशलाई आत्मनिर्भर बनाउन सकिने प्रतिक्रिया दिए।
आइतबार विप्लवको नेतृत्वमा झण्डै एक हजार स्याउका बिरुवा रोप्ने कार्यक्रम छ। जुम्लाको स्याउ निकै स्वादिलो र पोटिलो हुने भएकोले स्याउको पहिचान जोगाउने र जुम्लालाई स्याउको जिल्लाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको नेकपाले जनाएको छ।
आगामी वर्षदेखि जुम्लामा उत्पादित स्याउ, सिमी, ओखर लगायतका रैथाने बालीहरू खरिद गरेर ठूला सहरहरूमा पुर्याउने नेकपाको योजना रहेको बताइएको छ ।
प्रतिक्रिया