नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११औं वार्षिक साधारण सभा सम्पन्न

मंगलबार, १३ फागुन २०८१, १२ : २६

काठमाडौं - नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११औं वार्षिक साधारण सभा सफलतापूर्वक काठमाडौंमा सम्पन्न गरेको छ । यो सभाले लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तार, र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।

उक्त कार्यक्रमका मुख्य अतिथि (विशिष्ट मानार्थ सदस्य) माननीय संरक्षक श्री राजेश काजी श्रेष्ठ थिए । कार्यक्रममा संघका अध्यक्ष श्री सञ्जय अग्रवाल, नेपालका लागि इटालीका मानार्थ वाणिज्य दूत श्रीमती प्रतिमा पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष श्री अरनिको  राजभण्डारी, उपाध्यक्ष श्री रुपक राजवंशी, उपाध्यक्ष श्री मनोज कुमार ज्ञवाली लगायत प्रतिष्ठित संघ सदस्यहरूको उपस्थिति थियो।
 
कार्यक्रमको सुरुवात संघका महासचिव श्री मनोज श्रेष्ठ भाडेल को स्वागत मन्तव्य द्वारा भएको थियो । उनले नेपालको सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनर्निर्माणमा इटालीको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्दै भने, “नेपालको सम्पदा संरक्षणमा इटालीको योगदान महत्त्वपूर्ण रहँदै आएको छ। हामी यो सहकार्य हाम्रो दुई देशबीचको मित्रताको स्थायी प्रतीकका रूपमा रहने विश्वास गर्छौँ।”

११औं वार्षिक साधारण सभाको मुख्य आकर्षण नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्याउने व्यक्तित्वहरू तथा संस्थाहरूको सम्मान गर्नु थियो। माननीय संरक्षक श्री राजेश काजी श्रेष्ठ र मानार्थ वाणिज्य दूत श्रीमती प्रतिमा पाण्डे लाई विशिष्ट सम्मान स्वरूप कदर पत्र प्रदान गरियो। साथै, श्री अशंक समसेर जंगबहादुर राणा लाई २०२४ का ‘वर्षको उत्कृष्ट सदस्य’ को रूपमा सम्मानित गरियो ।

संघका अध्यक्ष श्री संजय अग्रवाल ले आफ्नो धारणा मन्तव्यमा नेपाल–इटालीबीचको राजनयिक तथा आर्थिक सम्बन्धको लामो यात्रा को चर्चा गरे, जुन ३१ अगस्ट १९५९ मा स्थापना भएको थियो । उनले नेपाल–इटालीबीच छ दशकभन्दा बढीको व्यापारिक सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा संघको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

इटालीले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ, विशेष गरी १९९० मा लोकतन्त्रको स्थापनापछि र २०१५ को भूकम्पपछि इटाली सरकारले पु¥याएको सहयोग ऐतिहासिक रहेको उनले स्मरण गरे । संघले इटालीबाट थप लगानी आकर्षित गर्ने तथा नेपालमा इटालीका पर्यटकहरूको आगमन प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताउँदै उनले भने, “हामी नेपाल–इटालीबीचको आर्थिक सहकार्यलाई अझ सुदृढ पार्दै दिगो आर्थिक वृद्धि हासिल गर्न केन्द्रित छौ ।”

संघ आफ्नो विभिन्न पहलहरू मार्फत द्विपक्षीय व्यापार प्रवर्द्धन, लगानी अवसरहरूको विस्तार तथा नेपालमा इटाली पर्यटन प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको छ । ११औं वार्षिक साधारण सभाको सफल समापन ले नेपाल र इटालीबीचको आर्थिक सहकार्यलाई थप बलियो बनाउने अर्को महत्त्वपूर्ण उपलब्धि को संकेत गरेको छ ।
 

मंगलबार, १३ फागुन २०८१, १२ : २६

प्रतिक्रिया