राष्ट्रिय अर्थतन्त्रलाई दिगो र रोजगारीमुखी बनाउन माधव नेपालको माग

मंगलबार, १३ फागुन २०८१, १३ : ३१

काठमाडौं - केपी ओली नेतृत्वको गठबन्धन सरकारका विरुद्ध जनतामा आक्रोश र निराशा छाएकोबेला माधव नेपालको पार्टी पनि सडक आन्दोलनको तयारीमा जुटेको छ । सो पार्टीले मुलुकमा भ्रष्टाचार मौलाएको र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको भन्दै आन्दोलन गर्ने निर्णय गरेको छ । ९ र १० फागुनमा सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भुसालले रोजगारी र सुशासनका लागि आन्दोलन गर्ने निर्णय भएको बताए । ‘रोजगारी र सुशासनका लागि आन्दोलनको विकल्प छैन । पुँजीवादविरूद्ध जनतालाई जागृत र आन्दोलित गर्दै समाजवादको तयारी गर्नेछौँ,’ उनले भने । 

महासचिज भुसालले, वर्तमान सरकार नालायक र दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेट्टाएर अराजक र पपुलिस्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै पार्टी जनतामाझ जाने निर्णय गरेको बताएका छन् । एकीकृत समाजवादीले सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गरिब जनताको जीवन कष्टकर हुँदै गएको निष्कर्ष निकाल्दै बैठकले भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्व कडाभन्दा कडा कारबाही गर्न र सम्बधित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गरेको छ । भूमाफिया, कालाबजारिया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने प्रावधान राखेर सरकारले अध्यादेश ल्याएको भन्दै एकीकृत समाजवादीले संसद्मा अध्यादेशको विरोधमा मतदान गर्ने निर्णय गरेको छ । 

एकीकृत समाजवादीले आन्दोलनको धम्की मात्र दिएको छैन । सरकारलाई रचनात्मक सुझाव पनि दिएको छ । उसले राष्ट्रिय अर्थतन्त्रलाई दिगो र रोजगारीमुखी बनाउने दिशामा कदम चाल्न सरकारसँग माग गरेको छ । ‘मुलुकमा कृषिको संरक्षण र उद्योगको विकास नभएकाले रोजगारीको उपयुक्त अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ । यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव परेको छ । समग्र अर्थतन्त्रको पुनर्गठन नगर्दासम्म टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन नसक्ने तथ्यमा जोड दिँदै यो बैठक राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारमुखी बनाउने दिशामा कदम चाल्न सरकारसँग माग गर्दछ,’ बैठकबाट पारित समसामयिक प्रस्तावमा भनिएको छ । 

मंगलबार, १३ फागुन २०८१, १३ : ३१

प्रतिक्रिया