खाद्य कम्पनीले यसवर्ष पनि लक्ष्य अनुसार धान खरिद गर्न सकेन

बुधबार, १४ फागुन २०८१, १३ : १८

काठमाडौं – न्युनतम समर्थन मूल्य तोकेर किसानबाट धान खरिद गर्दै आएको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्षपनि लक्ष्य अनुसार धान खरिद गर्न सकेको छैन् ।

चालू आर्थिक वर्ष (आव) २०८१\८२ मा कम्पनीले ७३ हजार ६ सय २० मेट्रिक टन खरिद लक्ष्य राखेर धान खरिद सुरु गरेको खाद्यले यसवर्ष ११ हजार ६ सय ४१ मेट्रिक टन मात्रै धान खरिद गर्न सकेको हो । यसका लागि सरकारले २ अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याइएको थियो ।कम्पनीकी सुचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले हाल सम्मकै ठुलो लक्ष्य राखेर धान खरिद सुरु गरिएपनि लक्ष्य अनुसार धान खरिद गर्न नसकेको बताईन् ।

उनका अनुसार खाद्यको तुलनामा स्थानिय व्यापारीहरुले बढी मूल्यमा धान किन्न थालेपछि किसानहरुले व्यापारीलाईनै धान बेच्दा खाद्यले चाहेर पनि लक्ष्य अनुसार किन्न नसकेको हो । यद्यपि एक÷दुई स्थान बाहेक अन्य स्थानमा किसानले स्थानिय व्यापारीलाई धान बेची सकेपछि खरिद प्रक्रिया सुरु हुँदापनि खरिद लक्ष्य प्रभावित भएको सुवेदीले स्विकार गरिन ।

चालू आवका लागि सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ४१०.५१ रुपैयाँ र मध्यम धानको ३ हजार ५८०.६२ रुपैयाँ तोकेको थियो । विगत वर्षहरुमा पनि खाद्यले लक्ष्य अनुसार धान खरिद गर्न नसेको तथ्यांक छ । यसअघि खाद्यले आव २०८०\८१ मा ५० हजार २ सय मेट्रिक टन धान खरिद लक्ष्य राखेपनि ९ हजार ३ सय मेट्रिक टन मात्रै खरिद गर्न सकेको थियो ।
 

 
 
 
बुधबार, १४ फागुन २०८१, १३ : १८

प्रतिक्रिया