काठमाडौं- माओवादी अध्यक्ष प्रचण्ड यतिबेला पार्टी सुदृढ बनाउन भन्दै देशदौडाहामा निस्किएका छन् । पार्टीमा आफ्नै प्रतिद्वन्दी ठानिएका जनार्दन शर्मालाई समेत साथमा लिएर प्रचण्डले झापाको कचनकवलबाट हुलाकीमार्ग केन्द्रित अभियान थालेका छन् । बाहिर उनको जति हाइफाइ देखिए पनि पार्टीभित्र उनको कमाण्ड पहिले जस्तो देखिदैन । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको विवाद मिलाउन पटक पटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको मौखिक तथा लिखित निर्णय कार्यान्वयन नभएपछि उनी आफ्ना निकटस्थहरुसँग दिक्दारी पोख्न थालेको खुमलटार स्रोत बताउँछ । उक्त विवाद मिलाउन प्रचण्डले बुधवार सबै सांसदलाई खुमलटार बोलाएका थिए । तर विवादको हल निस्केन ।
प्रचण्डले प्रदेशसभाका सांसदहरुलाई सुरुमै सोधेका थिए, ‘पार्टीको पटक पटकको निर्देशन किन कार्यान्वयन भएन ? तपाईँहरूले मेरो निर्देशन समेत किन मान्नु भएन ?’
अघिल्लो वर्ष माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरु भएको थियो । आफूले पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि उक्त निर्णय नफेरिएपछि प्रचण्डलाई नैतिक संकट परेको थियो ।
उक्त विवादलाई प्रचण्डले महत्व दिएर नै फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको बिचमा विवाद मिलाउन भनेर एक घण्टाको लागि मात्रै काठमाडौँ आएका थिए । दिउसो ३ बजेदेखि सुरु भएको छलफल करिब २ घण्टापछि अन्ततः प्रचण्डले पुरानै शैलीमा निर्देशन दिएर सकिएको थियो ।
उक्त छलफलमा खगराज भट्टले अध्यक्षकै कुरालाई जोड दिँदै ‘पार्टीको निर्देशन त मान्नु पर्छ नि’ भन्दै कुरा अगाडी बढाएका थिए ।
प्रचण्डले भट्टलाई दलको नेता बनाउन पटक पटक निर्देशन दिँदा पनि अझै भट्टप्रति माहौल भने बनेको छैन । बुधवार पनि भट्ट समूहले प्रचण्डकै अगाडी निर्णय गराउने लक्ष्य लिएको थियो तर, प्रचण्डले भने दलको विवाद दलबाटै समाधान गर्नेगरि उनीहरूलाई फर्काए ।
पार्टीका शक्तिशाली अध्यक्षको निर्देशन पालना नहुनुलाई सामान्य रुपमा हेर्न नमिल्ने माओवादी वृत्तमा चर्चा चलन थालेको छ । पार्टीमा आन्तरिक विवाद बढ्नु र अध्यक्षकै निर्देशन अवज्ञा हुनु संयोग मात्र मान्न नसकिने एक केन्द्रीय सदस्यले बताए ।
प्रतिक्रिया