उर्जामन्त्री खड्का विरुद्ध उत्रिए कुलमान, उर्जा राज्यमन्त्री तामाङ र प्रचण्डको साथ

शुक्रबार, १६ फागुन २०८१, १० : ५९

काठमाडौं– पछिल्लो समय उर्जा मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच ‘शितयुद्ध’ नै चलिरहेको छ । मन्त्री खड्काले घिसिङलाई नेपाल विद्युत प्राधिकरणबाट हटाउन निकै चलखेल गरिरहेका छन् । 

पदबाट हटाउने विषयमा उर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणमा बिहीबार लिखित जवाफ दिँदै घिसिङले मन्त्रिपरिदषद्को निर्णयबाट आफू नियुक्त भएकाले मन्त्रालयलाई हटाउने अधिकार नभएको बताएका छन् ।

प्रतिपक्षी नेकपा(माओवादी केन्द्र) निकट मानिएका कुलमानसँग उर्जामन्त्रीको कार्यभार सम्हालेदेखि नै खड्काको टसल बढ्दै गएको छ । यही पेरिफेरिमा उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम)लाई लिएर यसै साता घिसिङ प्रचण्डलाई भेटेपछि मन्त्री खड्काविरुद्ध प्रतिवादमा उत्रिएको स्रोतले जनाएको छ ।

रामेछापबाट निर्वाचित उर्जा राज्यमन्त्री तामाङ र कार्यकारी निर्देशक घिसिङ एउटै जिल्लाबासी हुन् । उनै उर्जा राज्यमन्त्री तामाङसँग प्रचण्ड भेट्न खुमलटार पुगेका घिसिङ प्रचण्डको आडभरोसामा उर्जा मन्त्रीको प्रतिवाद गरिरहेको स्रोतको दाबी छ । सोही कारण उर्जामन्त्री खड्काले आफूलाई पदबाट हटाउने कुनै अधिकार नभएको जवाफ घिसिङले फर्काएको प्राधिकरण स्रोत बताउँछ ।

स्रोतका अनुसार प्रचण्डसँगको भेटपछि नै घिसिङले उर्जामन्त्री खड्काको स्पष्टीकरणमा जवाफ दिँदै पदबाट हटाउने अधिकार नभएको लिखितरुपमै बताएका हुन् । उर्जा राज्यमन्त्री तामाङ घिसिङलाई पदबाट हटाउन नहुने पक्षमा उभिएका छन् । उनले सार्वजनिक रुपमै घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउन नहुने बताउँदै आफ्नै पार्टीका उर्जा मन्त्री खड्का विरुद्ध उभिएर घिसिङको बचाउमा लागेका छन् ।

यस विषयमा थप जानकारी लिन उर्जा राज्यमन्त्री तामाङसँग सम्पर्क गर्दा उनले प्रचण्डसँग भेट्नु नौलो नभएको बताए । उनले आफू कुलमानको पक्षमा उभिएको बताउँदै तत्काल हटाउन नहुने अडानमै यथावत रहेको जानकारी दिए । 

यो पनि पढ्नुस्

उर्जामन्त्री खड्कालाई कुलमानको जवाफ- मलाई स्पष्टीकरण सोध्ने अधिकार उर्जा मन्त्रालयलाई छैन (पूर्णपाठ)

शुक्रबार, १६ फागुन २०८१, १० : ५९

प्रतिक्रिया