काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बाझेर ह्वाइटहाउसबाट बाहिरिएसँगै दुबै राष्ट्रपतिले गर्ने भनिएको संयुक्त पत्रकार सम्मेलन रद्द भएको छ । जेलेन्स्की ह्वाइटहाउसबाट बाहिरिएपछी ट्रम्पले सामाजिक सञ्जालमार्फत ‘उनी (जेलेन्स्की) शान्ति स्थापनाका लागि तयार भए फिर्ता आउन सक्छन्’भनी प्रतिक्रिया दिएका छन् ।
एकाएक चर्काचर्कीको वातावरण सिर्जना भएसँगै उनीहरुबीचको मतभेद एवं तिक्तता बाहिर पोखिएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले जेलन्स्कीमाथि अपमानजनक व्यवहार गरेको आरोप लगाए । ट्रम्पलाई युक्रेनको खनिज उद्योगमा अमेरिकी सहभागिताको सम्झौतामाथि हस्ताक्षर हुने विश्वास थियो । तर, जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रतिको नरम व्यवहारलाई लिएर ट्रम्पलाई खुला चुनौति दिए ।
ट्रम्पका कयौँ जिकिरहरु जेलेन्स्कीले खण्डन समेत गरे । ट्रम्पले पुटिन सम्झौता गर्ने पक्षमा रहेको भनी जोड दिएकामा जेलेन्स्की क्रेमलिनप्रतिको नम्रपनलाई लिएर झर्किएका थिए ।
यी दुईको वार्ता असाधारण बन्न पुगेको भनी विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ट्रम्पले जेलेन्स्कीलाई ‘सम्झौंता गर्ने कि हामी बाहिर निस्किऔँ’ भनी चेतावनी दिएको बीबीसीले जनाएको छ ।
जेलेन्स्कीलाई ट्रम्पले ‘तेस्रो विश्वयुद्धसँग जुवा खेल्ने’ भनेर समेत जिस्काएको समाचारमा उल्लेख छ । जेलेन्स्कीले भ्लादिमिर पुटिनसँग कुनै सम्झौता हुन नहुने बताउँदा ट्रम्पले रुससँग शान्ति सम्झौताका लागि नम्रता अपनाउन पर्ने धारणा राखे ।
प्रतिक्रिया