स्ट्रबेरीखेतीबाट लाखौँ आम्दानी गर्दै बनेपाका मुक्ति विष्ट

शनिबार, १७ फागुन २०८१, १४ : ०७

काठमाडौं - बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । पछिल्ला दुई वर्षदेखि रु ३० लाखको हाराहारीमा आम्दानी गरिरहेका  विष्ट हाल जनागाल र नुवाकोटको ककनीमा स्ट्रबेरीको रेखदेख गर्नमा व्यस्त छन् । 

करिब चार वर्षअघि ‘कोरोना महामारी काल’मा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला निकालेको ‘जुक्ति’ले मुक्ति विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवसायी बनेका हुन् । विष्ट त्यस बेलाको जुक्तिबाट व्यावसायिक स्ट्रबेरी खेतीमा रत्तिभर विचलित नभई व्यवसायको दायरा बढाउँदै रमाइरहेका छन् । “अहिले बजारीकरणको समस्या छैन, स्थानीय तथा उपत्यकाको बजारमा रु तीन सयदेखि सात सयसम्ममा स्ट्रबेरी बिक्री भइरहेको छ”, विष्टले भने । 

जसले आफ्नै देशमा पसिना बगाइरहेका छन्, धेरैजसोले कृषि व्यवसाय रोजेको पाइन्छन् । यस्तैमध्येका एक हुनुहुन्छ विष्ट । उनी आफ्नै दश रोपनी जग्गामा स्ट्रबेरी रोपेर जिल्लामा मात्र नभएर देशकै नमुना कृषकको पहिचान बनाउने अभियानमा छन्। तर, ४५ वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय थाल्नुभएको भने होइन, अरूले रोपेको देखेर र भनेको सुनेकै भरमा थालेका हुन्। दैनिक हजारौँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै पनि केही गरौँ भन्ने लाग्नेहरूलाई विष्टको स्ट्रबरीखेती उदाहरणीय बन्न सक्ने देखिएको छ । 

अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै छन् । उनले आफ्नै माटोमा बगाएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको छ । त्यस्तै व्यवसायको दायरा पनि फराकिलो भइरहेको छ । यस वर्ष पनि विष्टले लगाएको खेतीबाट उत्पादन सुरु भइसकेको छ । उनले स्ट्रेबरीखेतीका लागि करिब रु ३० लाख लगानी गरेका थिए  । 

गत वर्ष सबै खर्च कटाएर रु ३० लाख बचत गरेका थिए। उनी यस वर्ष यतिकै हाराहारीमा आम्दानी लिने अपेक्षामा छन् । विष्टले हाल स्ट्रबेरी मात्र लगाएका छैन, मौसमअनुसारका अन्य तरकारी तथा कुखुरा पालनसमेत पनि गरिरहेका छन् । 

हाल उनको व्यवसायमा दैनिक पाँच जनाले रोजगारी पनि पाएका छन् । व्यवसायका लागि उनले विभिन्न सहकारी र बैंकबाट केही ऋण लिनुभएको बताए । “व्यवसायका लागि सरकारले दिने सहुलियत ऋणका लागि प्रयास गरिरहेको छु, तर पाएको छैन”, उनले गुनासो गरे। 

विष्ट आफ्नो व्यवसायलाई अब कसरी नयाँ रूप दिने भन्नेबारे सोच्दै छन् । उनी भन्छन् , “अब केही समयमै स्ट्रेबरीखेतीबाट वाइन र जुस कम्पनी खोलेर यसलाई उद्योगका रूपमा विकसित गर्ने लक्ष्य छ, यसका लागि विज्ञहरूसँग सल्लाह गरिरहेको छु ।” साथै, विष्टले गत वर्षदेखि नै स्ट्रबेरीका अतिरिक्त बिरुवासमेत उत्पादन गरेर बेच्ने गरिरहेको सुनाए । उनको अनुभवमा स्ट्रबेरी आफैँमा एक स्वादिलो र पोषिलो फल भएको र यसले मानव स्वास्थ्यमा धेरै नै फाइदा दिने भएकाले बजारमा माग र मूल्य उच्च भएको हो ।

विष्टले यस वर्ष ५० हजार केजी उत्पादन गर्ने लक्ष्य लिएका छन्, जसबाट गत वर्षभन्दा बढी आम्दानी हुनेछ । उनले स्ट्रबेरीखेतीका लागि बनेपामा र ककनीमा गरी एक लाख बिरुवा रोपेका हुन् । उनी भन्छन्, “स्ट्रबेरीको बिरुवा र उत्पादनका लागि अब बजारको समस्या छैन, आफैँ बिरुवा उत्पादन थालेको छु ।” उनले चितवन, नवलपरासी र बारामा स्ट्रबेरीखेतीका लागि अध्ययन भइरहेको बताए । उनले गत वर्ष ४० हजार बिरुवा उत्पादन गरी केही बिक्री गरेका थिए। 

दुई महिनामा हुर्केको स्ट्रबरीले उत्पादन दिन थाल्छ । उनले स्ट्रबेरीखेती थालेको थाहा पाउने बनेपा तथा आसपासका उनको खेतमै गएर खेती हेर्ने र किनेर लैजाने गर्छन् । विष्ट भन्छन्, “आजकाल दैनिक मेरो स्ट्रबेरी खेती हेर्न आउने क्रम बढ्दै छ, उहाँहरू यहीबाटै किनेर पनि लैजानुहुन्छ, उहाँहरूलाई म बजारको भन्दा सस्तो गरी दिने गर्छु ।” 

विष्टले उत्पादन गरेको स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौँ, पोखरा तथा चितवनसम्म जाने गरेको छ । विष्टले भने, “देशका प्रमुख सहरमा मेरा उत्पादन पु¥याउने लक्ष्य लिएको छु, स्ट्रबेरी बिरुवा छिमेकी जिल्ला भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीबाट माग हुन थालेको छ, त्यसमा पनि विशेष ध्यान दिइरहेको छु ।” प्रतिबिरुवा रु २५ देखि रु ३० सम्ममा बिक्री हुने गरेको विष्ट बत्ताउँछन् ।

विष्टले अमर भू–मण्डलीय बहुउद्देश्यीय कृषि फार्म दर्ता गरी नयाँ नयाँ काम सुरु गरिएकाले लगानीमा पनि वृद्धि हुँदै गएको बत्ताउँछन् । “सुरुआतका बेला कृषि तथा अन्य उत्पादनमा लाग्ने क्रममा केही घाटा व्यहोर्नु पर्‍यो, अहिले त्यस्तो छैन”, विष्टले भने । उत्पादनका लागि रासायनिक मलको अभावले कठिनाइ व्यहोर्नु परेको विष्टले सुनाए । 
 

शनिबार, १७ फागुन २०८१, १४ : ०७

प्रतिक्रिया