रक्सिराङ्ग गाउँपालिकामा चेपाङ समुदायलाई नेटवर्क हस्तान्तरण सम्पन्न

बुधबार, २१ फागुन २०८१, १४ : ०५

काठमाडौं– नेपाल इन्टरनेट फाउण्डेशनको अगुवाइ र इन्टरनेट सोसाइटीको सहयोगमा चेपाङ समुदाय नेटवर्क हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय सरोकारवालाहरूसँगको सहकार्यमा रक्सिराङ्ग गाउँपालिका वडा नं. ५ (चैनपुर) र वडा नं. ६ (सिलिङ्गे) मा आयोजना गरिएको कार्यक्रममा समुदायलाई नेटवर्क हस्तान्तरण गरिएको हो । 

यसले स्थानीय स्वामित्वको सुनिश्चितता गर्दै डिजिटल सशक्तिकरणलाई प्रवर्द्धन गर्ने बताइएको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा समुदायलाई र उपाध्यक्ष बनस्तम थिङ लाई अध्यक्ष विक्रम श्रेष्ठद्वारा चेपाङ सामुदायिक सञ्जाल हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष हरि बहादुर प्रजा, वडा नं.६ का अध्यक्ष आकल बहादुर मुक्तान, श्री राष्ट्रिय माध्यमिक विधालय‚ सिलिगें‚ काँकडा र श्री प्रजा जागृति माध्यमिक विधालय‚ चैनपुर‚ मकवानपुरका प्रधानाध्यापकहरू , स्थानीय नेताहरू, तथा समुदायका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले नेटवर्कले ल्याउने परिवर्तनबारे चर्चा गर्दै भने, ‘पहिलो पटक हाम्रो समुदाय प्रत्यक्ष रूपमा इन्टरनेट पहुँचमा जोडिएको छ, जसले शिक्षा, स्वास्थ्य, र जीविकोपार्जनका नयाँ सम्भावनाहरू खोल्नेछ।’ नेपाल इन्टरनेट फाउण्डेशन तथा साझेदार संस्थाहरूको सहकार्यमा स्थापना गरिएको चेपाङ समुदाय नेटवर्कले दुर्गम क्षेत्रहरूलाई भरपर्दो र किफायती इन्टरनेट पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ। 

चेपाङ सामुदायिक नेटवर्क स्थापना गर्न ३० किलोमिटर फाइबर केबल लेआउट गर्दै विद्यालयहरू, स्थानीय व्यवसायहरू, र घरपरिवारहरूलाई डिजिटल कनेक्टिभिटीको माध्यमबाट सामाजिक तथा आर्थिक वृद्धि गर्न सहयोग गर्नेछ। साथै अतिरिक्त 'एक अभियान' टोलीले सौगात आर्ट नेपालसँगको सहकार्यमा दुवै विद्यालयमा भित्ता कला र प्यान्टिङको कार्यक्रम पनि गरेका थिए ।

Chainpur- Panting

भविष्यमा, नेपाल इन्टरनेट फाउण्डेशनले प्राविधिक प्रशिक्षण, दीगो व्यवस्थापन योजना, र डिजिटल साक्षरता कार्यक्रम मार्फत समुदायलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यस परियोजनाले नेपालमा समावेशी र समुदायआधारित इन्टरनेट पहुँच विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ, जसले सबै नागरिकको डिजिटल अधिकार सुनिश्चित गर्ने लक्ष्यलाई बल पुर्याउनेछ।

बुधबार, २१ फागुन २०८१, १४ : ०५

प्रतिक्रिया