अमेरिका र युक्रेनबीच फेरि वार्ता हुने

शुक्रबार, २३ फागुन २०८१, १० : १५


काठमाडौं– अमेरिका र युक्रेनबीच फेरि वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अर्को हप्ता साउदी अरेबियामा अमेरिकासँग वार्ता हुने बताएका छन् । 

‘युक्रेनी र अमेरिकी टोलीहरूले काम फेरि थालेका छन् । अर्को साता अर्थपूर्ण बैठक हुने छ भनेर हामी आशा गर्छौं,’जेलेन्स्कीले एक्समा लेखेका छन् । जतिसक्दो चाँडो स्थायी शान्तिका लागि युक्रेनले काम गरिरहेको बताउँदै उनले अर्को वार्ता हुने बताएका हुन् । जेलेन्स्कीले आगामि वार्ता महत्वपुर्ण हुने आशा व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस–युक्रेन युद्ध अन्त्य गर्न शान्तिका लागि रोडम्याप छलफल गर्न चाहेको बताएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यम हरुले उल्लेख गरेका छन् ।

यस अघि गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएको थियो । जसमा ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप लगाएका थिए ।

दुई मुलुकका राष्ट्र प्रमुखको उक्त चर्काचर्की पछी अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता समेत रोकेको छ । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै जेलेन्स्कीले देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँगको सम्बन्ध सुधार गर्न आफु प्रयासरत रहेको बताएका छन् ।
 

शुक्रबार, २३ फागुन २०८१, १० : १५

प्रतिक्रिया