मध्यपश्चिम विश्वविद्यालयका तीन हजार ८४१ विद्यार्थी दीक्षित

शुक्रबार, २३ फागुन २०८१, १६ : २६

काठमाडौं- मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र सङ्कायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन्। 

वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट विद्यार्थी दीक्षित भएका हुन्।

समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै सङ्कायबाट स्नातक तहका दुई हजार एक सय ८९, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थी दीक्षित भएका हुन्।

कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक प्रा डा महेन्द्र पि लामा प्रमुख अतिथि रहेका थिए।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विश्वविद्यालय एवं सङ्घसंस्थाको सहकार्यमा थप नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने जनाए। प्रधानमन्त्री ओलीले आजै कर्णाली प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। -रासस

शुक्रबार, २३ फागुन २०८१, १६ : २६

प्रतिक्रिया