काठमााडौं - नेविसंघ र अखिलका विद्यार्थीहरूले मंगलबार थापाथली इन्जिनियरिङ क्याम्पसमा तोडफोड गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार मनोनयको विषयमा विवाद भएपछि एमाले निकट अनेरास्ववियू र कांग्रेस निकट नेविसंघले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत थापाथली क्याम्पसमा तोडफोड गरेका हुन् ।
उनीहरूले क्याम्पसको एउटा ढोका नै निकाली दिएका छन् । क्याम्पस प्रशासनको व्यवस्थापनबाट असन्तुष्ट भएर नेविसंघ र अखिलका विद्यार्थीहरुले क्याम्पसमा तोडफोड गरेको बताइएको छ ।
तोडफोड गर्नबाट रोक्न खोज्दा उल्टै आक्रोशित भएका विद्यार्थीहरुले क्याम्पसको बी ब्लकको गेटमा लगाइएको ताला समेत घनले फोरेका थिए । विद्यार्थी नेताहरूको उक्त तोडफोडलाई साम्य पार्न प्रहरीले बल प्रयोग गरेको थियो। तोडफोडबाट क्याम्पसको केही भौतिक संरचनामा क्षति पुगेको क्याम्पस प्रशासनले जनाएको छ ।
चैत ५ गते हुन लागेको स्ववियु चुनावको उम्मेदवारीका लागि मनोनय दर्ताको समयावधि सकिएपछि क्याम्पस प्रशासनसँग मिलेर संशोधन सहितको किर्ते कागजात बुझाएको आरोप उनीहरुको छ । अवैधानिक रूपमा समानुपातिक सदस्यको सूची बुझाएको भन्दै अनेरास्ववियु थापाथली क्याम्पसले विरोध जनाएको छ ।
प्रतिक्रिया