काठमाडौं - फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा देखिएको अनपेक्षित भिंडले गणतन्त्रवादीहरुको निद हराम गरिदिएको छ । सरकारले अनुमान गरेको भन्दा दसौं गुणा बढी मानिस प्रदर्शनमा उत्रिएपछि मूलधारको राजनीतिमा नयाँ खालको तरङ्ग सिर्जना भएको कतिपयको ठम्याइ छ । यो अवस्थाको आँकलन संभवतः केपी, प्रचण्ड र देउवाले गरेका थिएनन् ।
यो घटनापछि माओवादी अध्यक्ष प्रचण्ड अनायास आफ्नो नियमित अभियान रोकेर काठमाडौं फर्किए । संसदमा प्रचण्डले गरेको सम्बोधनमा राजावादीहरुलाई धम्किी मात्र हौइन कता कता आफैभित्र त्राश पनि देखिन्थ्यो ।
कसरी आयो यस्तो अवस्था ?
राजावादीहरु यति बिधि उत्साहित हुनुमा सामान्य रुपमा राजाको फागुन ७ को सन्देशलाई मान्ने गरिएको छ । तर यो आंशिक सत्य मात्र हो । परिस्थिति धेरै पहिलेदेखि बिग्रीसकेको थियो । कुनै पनि सामाजिक उथलपुथल एकैचोटी हुने गर्दैनन् । विभिन्न घटनार र परिघटनाले काम गरिरहेको हुन्छ । राजतन्त्रकालमा धेरै शासकीय कमजोरीहरु थिए होलान् । व्यवस्थाले देशलाई उँभो लगाउन सकिरहेको थिएन । राजा र तिनका सन्तान दर सन्तानले राज्यको ढुकुटी ठूलो मात्रामा दोहन गरेका थिए । स्वतन्त्रता र प्रजातन्त्रको त के कुरा भयो । ? फरक आस्था र विचार राख्नेहरुको लागि सिंगो देश नै जेल थियो । त्यसकारण त जनता २५० वर्षदेखिको राजसंस्था फाल्दा मौन भैदिए । दलहरुलाई समर्थन गरिदिए । गणतन्त्र आएपछि जनताले फेरि त्यही अवस्था देख्न चाहेका थिएनन् । नयाँ नेपालको सपना देखाइएको थियो । शासन प्रणालीमा नयाँपन देख्न चाहेका थिए जनताले । एउटा राजा हटाएर सयौं राजा बनाउने गणतन्त्र पक्के पनि कसैले चाहेको थिएन । तर दुर्भाग्य त्यही परिस्थिति ल्याए नयाँ भनिएका राजनीतिक दलहरुले । जनता फेरि पनि रोजीरोटीको लागि देश छोड्नुपर्ने नियतिबाट मुक्त हुन सकेनन् ।
के भन्छन् दलहरु ?
वास्तवमा गणतन्त्रपछिका सरकारहरुले जनआकांक्षा चल्न नसकेकाले यो अवस्था सिर्जना भएको सबैले स्विकार गरेका छन् ।
यस्तै धारणा माओवादी प्रवक्ता अग्नि सापकोटाले व्यक्त गरेका छन् । उनी भन्छन, ‘कांग्रेस–एमाले गठबन्धनले जनतामा आशा दिने काम नगरेकोले पूर्व राजाले टाउको उठाउन मौका पाएका हुन । ’ सरकारकै कारण यो अवस्था आएको र राजावादीको उक्साहटमा ज्ञानेन्द्र हौसिएको सापकोटाको भनाइ छ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसेर जनतामा डेलिभरी दिन सक्नुभएन। सरकार सेवा प्रवाह र सुशासनमा असफल भएको छ। यही मौकामा राजावादी केही हुन्छ कि भनेर हौसिएका छन्,’ उनले आजको अर्थसँग भने, राजतन्त्र फर्कने त सम्भावनै छैन।’
‘जनताले उन्नत लोकतन्त्रको अपेक्षा गरेका छन्, परिवर्तन र अग्रगमनको निम्ति,’ उनले थपे, ‘यिनै जनता भोलि यही लोकतन्त्रको रक्षार्थ लाग्छन्, हेर्नुहोला।’
सत्तारुढ दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली ज्ञानेन्द्रको स्वागतमा तीनथरी मानिस देखिएको बताउँछन्।
‘एकै खालका मान्छे छैनन्। केही प्रतिबद्ध पुरातनपन्थीहरू छन्। जस्तो, जसले हिजो पञ्चायतकालमा दरबारको छत्रछाया पाएका थिए, अनुचित लाभ उठाएका थिए, उनीहरूलाई अहिले पनि त्यो विरासत फर्काउन सकिन्छ कि भन्ने आशा छ,’ ज्ञवालीले भने, ‘एउटा पंक्ति एकदमै अवसरवादी छ। त्यो दुर्गा प्रसाईँले जम्मा गरेको भीड भनौँ न। ती २० लाखसम्मको ऋण मिनाह हुन्छ, बैंकको पैसा तिर्नुपर्दैन भन्नेजस्ता हावादारी कुराको पछि लाग्या छन्। तेस्रो, जनताको सानो तप्का असन्तुष्ट छ। अहिलेका कतिपय राजनीतिक विसङ्गतिहरूबाट चित्त दुखाइरहेको पनि छ। त्यो निश्चित उद्देश्यले भन्दा पनि आफ्नो असन्तुष्टि कहीँ न कहीँ पोख्न चाहन्छ।’
ज्ञानेन्द्रको स्वागत गर्न पुगेका मानिसलाई हेरेर धेरै तरङ्गित हुनुपर्ने जरुरी नभएको उपमहासचिव ज्ञवाली बताउँछन्।
‘यसले कुनै राजनीतिक परिवर्तन ल्याउँदैन,’ उनले थपे, ‘लोकतन्त्रवादीहरू आफ्ना कामलाई सुधार गर्दै जाने, जनतामा डेलिभरी दिँदै जाने हिसाबले अघि बढ्नुपर्छ।’
आगामी दिनमा जनताको पक्षमा परिणाम दिने गरी काम गर्न दबाब दिएको उनले स्वीकार गरे।
त्यस्तै सत्तारुढ दल नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले ज्ञानेन्द्रको पक्षमा देखिएको समर्थनले तर्सनुपर्ने अवस्था नभए पनि गम्भीर ढंगले लिनुपर्ने बताए।
‘संविधानलाई मुख्य केन्द्रविन्दुमा राखेर हाम्रा आचरण, व्यवहार र कार्यशैलीमा सुधार गर्नुपर्ने र जनतासँगको सम्बन्धलाई थप सुनिश्चित गर्नुपर्नेछ,’ उनले भने, ‘हामीले जनताले भनेकै समावेशिता, धर्म निरपेक्षता अनुसार संविधान बनाएका छौँ। यतिबेला जसले संविधानमा हस्ताक्षर गर्नुभएन, उहाँहरू पक्षमा हुनुहुन्छ। राप्रपाले हस्ताक्षर गरे पनि संविधानको खिलाफमा असंवैधानिक गतिविधि गरिरहेको छ। यो संविधानसम्म मात्र जोडिएन। सिंगो नेपाली जनताको भावनासँग जोडिएको हुनाले यसमा चुप बस्ने कुरा हुँदैन।’
कांग्रेसले गणतन्त्र ल्याउनेदेखि संविधान जारी गराउन खेलेको भूमिकाले पनि ज्ञानेन्द्रको गतिविधि मौन बसेर हेर्न नसकिने उनको भनाइ छ।
‘अहिले ज्ञानेन्द्रको पक्षमा माहोल देखिएको भनिएको छ, माहोल त दुई किसिमले बन्छ, एउटा स्वतःस्फूर्त। अर्को आह्वानबाट। आज काठमाडौंमा देखिएको २ हजार जतिको जुलुसले पूर्वराजाले म राजगद्दीमा फर्कन्छु, भनेको त म व्यवस्था बदल्छु संविधान मान्दिनँ भन्या हो। त्यसकारण उनको भूमिकालाई सरकारले पर्ख र हेरको अवस्थामा राखेको छ,’ उनले भने।
ठूला दलहरुले बाहिर सामान्य रुपमा लिए पनि भित्रभित्रै निकै आत्तिएको समाचार सुत्रहरुको दाबी छ । जगमान गुरुङ्ग जस्ता राजाका सल्लाहकारहरु असारमा राजा गद्दी चढ्ने बताइरहेका छन् । खासगरी नयाँ पुस्ताले आजको व्यवस्थाले जन्माएको विकृतिबाट परिवर्तन चाहेको देखिन्छ । त्यो परिवर्तनको नेतृत्व पूर्वराजाले नै गर्छन भन्ने छैन । कसैले अनुमान नगरेको शक्तिले पनि निकट भविष्यमा शासनको बागडोर हातमा नलेला भन्न सकिदैन । जसरी बंगलादेशमा सत्ता परिवर्तन भयो । त्यहाँ स्थापित राजनीतिक दलहरुको नेतृत्व थिएन । कलेज पढ्ने केही विद्यार्थीहरुले सत्तापलट गर्लान भन्ने कसले सोचेको थियो होला र ?
प्रतिक्रिया