नेकद्वारा दुई दिने शिक्षक कर्मचारीको क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न

विहीबार, २९ फागुन २०८१, १५ : ११

काठमाडौं - चाँगुनारायण भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा कर्मचारीहरूलाई दुई दिने क्षमता अभिवृद्धि प्रशिक्षण दिएको छ । 

ललितपुरको स्टाफ कलेजमा सञ्चालित तालिममा सहभागीहरूलाई नेतृत्व विकास, शिक्षाशास्त्र, सुचना सञ्चार र सीप विकासका विषयहरूको प्रशिक्षण दिइएको हो । आइतबारदेखि भएको प्रशिक्षणमा विके रमन भट्टराई, डा.नरेन्द्रविक्रम राज पनेरु, मानसी अग्रवाल, प्राडा बालमुकुन्द भट्टराईले सहभागीहरूलाई विषयगत विषयहरूमा प्रशिक्षण दिएका थिए ।

शिक्षक तथा कर्मचारीहरूले प्रशिक्षणबाट विद्यार्थीलाई कसरी अध्ययनमा रुचि जगाउने, विद्यार्थीहरुका जिज्ञासा र पाठ्यक्रमका विषयवस्तु प्रभावकारी रूपमा कसरी बुझाउने लगायतको बारे जानकारी पाइएको बताए । उनीहरूले नेतृत्व विकास, सीप विकास र व्यक्तित्व विकासका यस्ता प्रशिक्षणहरूले कलेजको शैक्षिक, प्रशासनिक गुणस्तरीयता कायम गर्न पनि सहयोग पुग्ने बताए ।

कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले नेतृत्व क्षमता विकास तालिमले शिक्षक तथा कर्मचारीहरूको व्यक्तित्व विकास,क्षमता विकासमा टेवा पुग्ने बताए । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले शिक्षक, कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न तालिम तथा प्रशिक्षणहरू दिँदै आएको छ । 

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरूको अध्ययन अध्यापन हुने गरेको छ ।

विहीबार, २९ फागुन २०८१, १५ : ११

प्रतिक्रिया