काठमाडौं- विगतका वर्षमा यो समयमा चितवनको सौराहा पर्यटकले भरिन्थ्यो । होटलहरूको आम्दानी पनि राम्रो हुन्थ्यो । तर यसपालि विगतको जस्तो चहलपहल छैन । मुख्य याममा चिनियाँ पर्यटक कम आएसँगै सौराहको पर्यटकीय गतिविधि प्रभावित भएको छ ।
विगतमा जस्तो भारतीय र तेस्रो देशका पर्यटक पनि उल्लेख्य सङ्ख्यामा नआएका व्यवसायीले बताएका छन् । स्वदेशी पर्यटकको सङ्ख्या पनि कम रहेको उनीहरूको भनाइ छ ।
व्यवसायी दीपक भट्टराईले विगतका वर्षमा यति बेला आफ्नो होटलमा ८० प्रतिशत चिनियाँ पर्यटक हुने गरेकामा यस वर्ष ४० प्रतिशत पनि नपुगेको बताए ।
यसैबीच बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । निकुञ्जभित्र बाघ, गैँडा तथा हात्तीलगायत जङ्गली जनावर हेर्न आउने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको निकुञ्जले जनाएको छ ।
चालू आर्थिक वर्षको सात महिनामा १४ हजार सात सय ४८ जना पर्यटकले निकुञ्ज प्रवेश गरेका निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताए । गएको आर्थिक वर्ष त्यही अवधिमा १३ हजार सात सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका थिए । -रासस
प्रतिक्रिया