म्याग्दीका स्थानीयवासीले ढुङ्गा खानी उत्खनन गर्न पाउने

शनिबार, ०२ चैत्र २०८१, १३ : ०१

काठमाडौं- म्याग्दीको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाउने भएका छन् ।

गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खननसम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउने भएका हुन् ।

रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारीमा घर छाउनी ढुङ्गा, स्लेट र औषधिजन्य जडीबुटीको खानी भए पनि सञ्चालनसम्बन्धी कार्यविधि अभावमा उत्खनन हुन सकेका थिएनन् । ऐन पारित भएसँगै निजी जग्गामा रहेका स्लेट (ढुङ्गा) खानी दर्ता गर्ने कानूनी बाटो खुलेको हो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा भएका स्लेट खानीलाई प्रक्रिया पूरा गरेर गाउँपालिकाले सञ्चालनको अनुमति दिन मिल्ने कानूनी व्यवस्था गरेको बताए। पाखो तथा निजी जग्गामा भएका ढुङ्गा खानीलाई व्यवस्थित गरी सञ्चालन गरेमा स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले जानकारी दिए ।

रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी छन् । व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेको स्थानीय जगबहादुर पुनले जानकारी दिए।

केही वर्ष अघिसम्म म्याग्दी,पर्वत, बाग्लुङ, कास्की, स्याङ्जा, अर्घाखाँचीलगायतबाट घर छाउने ढुङ्गाको माग आउने गर्दथ्यो । सभाबाट पारित भएको ढुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन ऐन २०८१ मा स्लेट खानी सञ्चालनसम्बन्धी व्यवस्था गरिएको हो । स्थानीयवासीले ढुङ्गा खानीलाई वैधानिकता दिन माग गर्दै आएका थिए । -रासस

शनिबार, ०२ चैत्र २०८१, १३ : ०१

प्रतिक्रिया