काठमाडौं- सिराहा प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ४६ थान मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले शुक्रबार ती मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
होलीमा अवाञ्छनीय गतिविधि रोक्न प्रहरीले सिराहा, लहान, गोलबजार, मिर्चैया, धनगढी, बन्दिपुर लागायतका स्थानमा चेकजाँच कडा बनाइएको थियो ।
एउटै मोटर साइकलमा दुई जनाभन्दा बढी चढेको, हेलमेट नलगाई मोटरसाइकल चलाएको, अत्यधिक गतिमा कुदाएको, मापसे गरेर चलाएको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ ।
त्यस्तै, होली मनाउने क्रममा अमर्यादित क्रियाकलाप गर्ने एक दर्जन व्यक्तिलाई प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको थियो । होली खेल्ने क्रममा मादक पदार्थ सेवन गरी होहल्ला र झगडा गर्नेहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिराहामा प्रहरीले सुरक्षा योजनाअन्तर्गत ५ सय ५९ जना प्रहरी परिचालन गरिएको जानकारी दिएको छ ।
प्रतिक्रिया