दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत

मंगलबार, १२ चैत्र २०८१, १२ : ००

काठमाडौं - तनहुँ व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन्  । उनले प्रोत्साहन स्वरूप रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन् । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उनले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिए । 

पाँच वर्ष अघिदेखि कृषि पेशामा लागेका बाँस्तोलाले यातायात व्यवसाय छाडेर व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गरेका छन् । उनले कोभिड १९ का बेला लामो समयसम्म बन्दाबन्दी (लकडाउन) भएपछि गाउँ फर्किएर पशुपालन सुरु गरेका थिए  । 

उनका फार्ममा हाल उन्नत प्रजातिका २२ वटा जर्सी तथा होलस्टेन जातका गाई छन् । जसमध्ये १५ लैना गाईबाट दैनिक दुई सय लिटर दूध उत्पादन गरी मासिक रु चार लाखको दूध बिक्री गर्ने गरेको बाँस्तोलाले बताए  । 

गाउँकै बेलबास दुग्ध उत्पादक सहकारीमा दूध बिक्री गरेर खर्च कटाएर मासिक रु दुई लाख बचत हुने गरेको उनले बताए। बाँस्तोलाले भने, “उत्पादनमा आधारित अनुदानअन्तर्गत पुरस्कार पाएपछि पेशाप्रति गौरव महसुस भएको छ ।” यातायात व्यवसायभन्दा गाईपालनबाट सन्तुष्टि मिलेको बाँस्तोलाको भनाइ छ । बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष केशवबहादुर रानाले उनी गाउँमा सबैभन्दा धेरै दूध उत्पादन गर्ने किसान भएको बताए  । 

गाईको साथै बाँस्तोलाले बाख्रापालनबाट पनि आम्दानी गर्दै आएका छन् । उनले ५० वटा बोयर बाख्रा पालेका छन् । गाई र बाख्रा दुवै थप गरेर हालको आम्दानीलाई दोब्बर पार्ने सोच बनाएको बाँस्तोलाले बताए । 

सरकारलाई अनुदान दिने प्रक्रिया बदल्नु जरुरी रहेको किसान बाँस्तोलाको सुझाव छ । व्यवसाय गरेको कागज बनाउने, अनुदान लिने र अनुदान पाएपछि पेशा छाड्ने गरेकाले अनुदानको दुरुपयोग भएको बाँस्तोलाको गुनासो छ । 

मंगलबार, १२ चैत्र २०८१, १२ : ००

प्रतिक्रिया