अमेरिकी करवृद्धि कपडा उद्योगका लागि ठुलो धक्का: बंगलादेशी उद्यमी

विहीबार, २१ चैत्र २०८१, १५ : ३३

काठमाडौं - बंगलादेशी कपडा उद्योगसम्बद्ध उद्यमीहरूले बिहीबार अमेरिकी करले विश्वको दोस्रो ठुलो गार्मेन्ट उत्पादक बंगलादेशलाई ‘ठुलो धक्का’ पुर्‍याएको बताएका छन् ।। 

आरडिएम ग्रुपका अध्यक्ष रकिबुल आलम चौधरीले भने, “कर वृद्धिका कारण मूल्यमा हुने वृद्धिले मागलाई प्रभावित गर्नेछ । हामी खरिदकर्ताहरू गुमाउनेछौँ । क्रेताहरू अन्य लागत–प्रतिस्पर्धी बजारमा जानेछन् र यो हाम्रो उद्योगको लागि ठुलो धक्का हुनेछ।” 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार बंगलादेशमा कपासमा १६ प्रतिशत र पोलिस्टर उत्पादनमा ३२ प्रतिशत कर वृद्धि गर्दै समग्रमा ३७ प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका थिए । बंगलादेशले संयुक्त राज्य अमेरिकामा वार्षिक ८.४ अर्ब अमेरिकी डलरबराबरको तयारी कपडा निर्यात गर्ने गरेको बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए)को तथ्यांकले देखाएको छ ।

यो बंगलादेशको कुल तयारी पोसाक निर्यातको करिब २० प्रतिशत हो । “हामी कर वृद्धिका लागि तयार थिएनौँ तर यो अचानक आयो,” बीजीएमईएका प्रशासक अनवर हुसेनले भने । हुसेनले अन्य क्षेत्रीय व्यापार प्रतिद्वन्द्वीहरूको अवस्था अझ खराब रहेको बताउनुभएको छ । 

“चीन, भियतनाम र श्रीलंका जस्ता हाम्रा प्रतिस्पर्धीको तुलनामा हामी अझै अगाडि छौँ किनभने उनीहरूको कर हाम्रोभन्दा बढी छ,” हुसेनले भने ।  संयुक्त राज्य अमेरिकामा बंगलादेशको निर्यातको अधिकांश हिस्सा सूती कपडा हो,” बीजीएमईएका पूर्व उपाध्यक्ष चौधरीले भने। बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले सरकारले समाधान खोजिरहेको बताए  । 

“राष्ट्रिय राजस्व बोर्डले शुल्कलाई छिटो तर्कसंगत बनाउने विकल्पहरूको पहिचान गरिरहेको छ, यो अमेरिकी कर वृद्धिको विषयलाई सम्बोधन गर्न आवश्यक छ,” आलमले एक विज्ञप्तिमा भनेका छन्  । 

चीनपछि दोस्रो ठुलो उत्पादक बंगलादेशले फ्रान्सको क्यारेफोर, क्यानाडाको टायर, जापानको युनिक्लो, आयरल्याण्डको प्रिमार्क, स्वीडेनको एच एण्ड एम र स्पेनको जाराजस्ता विश्वव्यापी ब्रान्डका लागि कपडा उत्पादन गर्छ ।
 
सरकारलाई ढाल्न सफल भएका सन् २०२४ को अगस्टमा भएको विद्यार्थी आन्दोलनले बंगलादेशको गार्मेन्ट उद्योगलाई अस्तव्यस्त बनाएको थियो । आन्दोलनमा गार्मेन्ट क्षेत्रका प्रदर्शनकारीहरूले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए।

बंगलादेशमा महिनौँ लामो हिंसाका कारण पटक–पटक उत्पादन ठप्प भएको थियो यद्यपि वार्षिक आम्दानीमा खासै कमी आएको थिएन। कपडा उद्योगले सन् २०२४ मा ३६ अर्ब डलर नियात गरेको थियो भने अघिल्लो वर्ष ३८ अर्ब डलर निर्यात गरेको थियो ।
 

विहीबार, २१ चैत्र २०८१, १५ : ३३

प्रतिक्रिया