मलेसियामा अध्यागमनको छापा, ३ नेपाली पक्राउ

मंगलबार, ०६ जेठ २०८२, ०८ : ४५

काठमाडौं– मलेसियाको अध्यागमन विभागले छापा मारेर ३ जना नेपाली पक्राउ गरेको छ ।

मलेसियाको जलन टुंकु अब्दुल रहमानस्थित एक मलमा मारिएको छापामा ३ नेपालीसहित १४३ आप्रवासी कामदार पक्राउ परेको मलेसियाली पत्रिका न्यु स्ट्रेट्स टाइम्सले जनाएको हो । 

 नेपालीबाहेक इन्डोनेसियाका ५६, पाकिस्तानका ३२, बङ्गलादेशका २६ र भारतका १० जना कामदार पनि पक्राउ परेका छन् । 

यस्तै, म्यानमारका १०, सिरियाका ४ तथा चीन र अफगानिस्तानका एक(एक जना पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा २२ देखि ४८ वर्ष उमेरका ११० जना पुरुष र ३३ जना महिला रहेको बताइएको छ । 

यद्यपि, उनीहरूको परिचय भने खुलाइएको छैन । सबै जना अध्यागमन कानुन उल्लघंन गरेको आरोपमा पक्राउ परेका हुन् । जसमध्ये अधिकांश बसोबास अनुमति नभएका, स्वीकृत म्यादभन्दा बढी बसेका र अवैध कागजात भएकाहरू छन् । 

पछिल्लो समय मलेसियाको अध्यागमन विभागले अवैध आप्रवासी कामदारमाथिको धरपकड तीव्र पार्दै लगेको छ । गत मे १५ सम्ममा देशभर ५ हजार ९० छापा मारिएका छन् । 

जस क्रममा ३४ हजार ६१५ अवैध आप्रवासी कामदार र ६८० रोजगारदाता पक्राउ परिसकेका छन् । मलेसियामा करिब १ लाख नेपाली अवैध हैसियतमा रहेको अनुमान छ । अध्यागमनको छापासँगै पक्राउ पर्ने नेपालीको सङ्ख्या समेत बढ्दै गएको छ । 

मंगलबार, ०६ जेठ २०८२, ०८ : ४५

प्रतिक्रिया