काठमाडौं - एमालेका पूर्व महासचिव समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीकोभन्दा नेकपा एमालेको चिन्ता गर्न थालेका छन् । एक कार्यक्रममा बोलदै उनले एमाले संकट नै संकटले ग्रस्त भएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको बताए । एमालेभित्र अन्तरविरोध बढ्दै गइरहेको उनको भनाइ थियो ।
नेकपा एमालेको भविष्य आगामी दिनमा के हुने हो ? सहजै भन्न सकिने अवस्था नरहेको उनले बताए । कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै नभइ दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने जस्ता प्रवृत्तिहरुलाई परास्त गर्नुपर्ने उनले बताए ।
अध्यक्ष नेपालले भने, ‘नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको छ । अन्तरविरोध बढ्दै गइरहेको छ । अब त्यसको भविष्य के हुने हो त्यति सजिलै गरी भन्न सकिने अवस्था छैन । म त्यो पार्टीको आन्तरिक कुरामा धेरै प्रवेश गर्न चाहन्न । तर म के भन्छु भने यो कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै होइन दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने यस्ता जुनसुकैले प्रवृत्ति बोकेका छन् भने यो प्रवृत्ति परास्त गर्नैपर्छ ।’ अध्यक्ष नेपालले कम्युनिष्टहरुको भविष्य अझै रहेको उल्लेख गरे ।
आफूलाई लागेको भ्रष्टाचारको आरोपबारे उनले भने,‘ भ्रष्टाचार गरेको छ भनेर प्रमाण प्रस्तुत गरे जुनसुकै बलिदान दिन पनि तयार छु ।’ उनले नबिराउनु, नडराउनु भन्ने आफ्नो एउटा मान्यता रहेको पनि बताए । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता नरहेको उनको भनाइ छ ।
उनले यो धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरे जुनसुकै बलिदान गर्न आफू तयार रहेको घोषणा गरे । उनले आफू सधैं अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने व्यक्ति भएको बताए । अध्यक्ष नेपालले जीवनमा चुनौतीहरुको सामना गर्ने आँटका साथ अघि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया