सल्यानको छत्रेश्वरीमा पर्यटकीय पदमार्ग उद्घाटन

शुक्रबार, २० असार २०८२, १५ : ०६

काठमाडौं- सल्यानको छत्रेश्वरीमा करिव सवा तीन करोड रुपैयाँ लागतमा निर्माण गरिएको पर्यटकीय पदमार्गको उद्घाटन गरिएको छ । नेपालकै बली नचढ्ने पवित्र धार्मीक, ऐतिहाँसिक तथा पर्यटकीय स्थल सल्यानको छत्रेश्वरी सतिपिठमा पदमार्गको उद्घाटन गरिएको हो । छत्रेश्वरी गाउँपालिका वडा नं ६ स्थित छत्रेश्वरी सतिपिठसम्म पुग्नका लागि निर्माण गरिएको पर्यटकीय पदमार्ग एवं अन्य भौतिक संरचनाहरुको विहिबार छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले उद्घाटन गरेका हुन ।  

गाउँपालिकाको पहलमा संघीय सरकारको पर्यटन विभाग मार्फत दुईवटा प्रतिक्षालय, एउटा आधुनिक र अपांगतामैत्री सौचालय, ठाउँठाउँमा यात्रु विसौनीहरु तथा मन्दिर देखि शंखमुलसम्म १३६० मिटर र छायाँढुंगा तर्फ दुईसय मिटर बढी ढुंगा विछ्याएर रेलिङ सहितको पदमार्ग निर्माण गरिएको छ । अन्य विभिन्न भौतिक संरचनाहरु समेत बनाइएको छ । जाजरकोट, दैलेख र प्युठानबाट ढुंगा ल्याएर पदमार्गको सिँढीहरु बनाइएको निर्माण कम्पनी रामेछाप सानु दामोदर जे।भी। गोकर्णेश्वर, ६ जोरपाटीका सञ्चालक फुर्वा नामगेल शेर्पाले जानकारी दिए । तीन करोड ११ लाख रूपैयाँ लागतको छत्रेश्वरीको पदमार्ग निर्माणका लागि रामेछाप सानु दामोदर जे।भी।ले दुई करोड ६४ लाख रुपैयाँमा २०८२ भदौ सम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । सम्झौता अवधि अगावै निर्माण कम्पनीले काम सम्पन्न गरेको भन्दै निर्माण कम्पनीलाई गाउँपालिकाले धन्यवाद दिएको छ ।

गाउँपालिका अध्यक्ष बुढाथोकीले राप्ती लोकमार्ग स्थित शंखमुलबाट छत्रेश्वरी मन्दिर सम्म गाडीमा पुग्नको लागि सडकको समेत सुविधा रहेको जनाउदै भक्तजन एवं पर्यटकहरुलाई थप सहजताका लागि पालिकाको योजना अनुसार बजेट व्यवस्थापन भएर पदमार्ग लगाएतका संरचना निर्माण भएको जानकारी दिए । छत्रेश्वरी सतिपीठमा अझै अन्य पूर्वाधार विकासका लागि पर्यटन विभागसंग समन्वय भइरहेको उनको भनाई छ ।

पर्यटकीय पदमार्ग निर्माण कार्यको गत साउन १४ गते गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले सिलान्यास गरेकि थिइन् । धार्मीक, पर्यटकीय क्षेत्रको विकास एवं अन्य सम्पदाहरुको संरक्षणमा गाउँपालिकाले प्राथमिकतासाथ काम गरिरहेको खत्रीको भनाई छ । पदमार्ग समुद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नं ६ का वडाध्यक्ष टिकाराम बुढा, वडा नं ७ का वडाध्यक्ष टेक बहादुर विष्ट लगाएतले छत्रेश्वरीको प्रचारप्रसारमा सबैको साथको खाँचो औल्याएका थिए ।

पदमार्ग निर्माण भएसंगै अबदेखि रमणीय जंगल र हरियालीको प्राकृतिक सौन्दर्य अवलोकन गर्दै छत्रेश्वरी मन्दिरसम्म पुग्न सकिने भएको छ । सत्ययुगको ऐतिहासिक सन्दर्भसँग जोडिएको छत्रेश्वरी मन्दिर सतीदेवीको शक्तिपीठको रूपमा चिनिन्छ । जनविश्वास अनुसार भगवान शिवले सतीदेवीको मृत शरीर बोकी विश्व यात्रा गर्नेक्रममा यसै स्थानमा सतीदेवीको शरीरको शेष अंग खसेको थियो । यही ऐतिहासिक मान्यता अनुसार यो स्थान शक्तिपीठको रूपमा पूजनीय रहँदै आएको छ । हरेक वर्ष महाशिवात्री तथा अन्य चाडपर्वहरूमा हजारौं श्रद्धालु यो मन्दिरमा दर्शनका लागि आउने गर्दछन् ।

धार्मिक पर्यटनका लागि एक सुन्दर गन्तव्य स्थल बनेको छत्रेश्वरी मन्दिर सदरमुकाम सल्यान खलंगा देखि पुर्ब तिर २३ किलोमिटर र राप्ती राजमार्गको नजिकै शंखमुलबाट ४ किलोमिटरको दुरीमा माथि थुम्कोमा अबस्थित छ ।
छत्रेश्वरी सतिपीठसंगै जोडिएको शंखपार्क पनि भक्तजन एवं पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । श्रीस्वस्थानी व्रतकथामा सल्यानको शंखमूलको वर्णन गरेको पाइन्छ । शंखमूल नजिकैको पहाड छत्रेश्वरीमा सतिदेवीको शेष अंग पतन भएपछि महादेवले शंखमूलको कुण्डमा स्नान गरी कैलाश पर्वततर्फ गएको किंवदन्ती छ । सल्यान जिल्लासँंगै छिमेकी जिल्ला रूकुम, रोल्पा, दाङ लगायतका तिर्थालुहरूका लागि यो एक धार्मिक गन्तव्य बनेको छ ।

शुक्रबार, २० असार २०८२, १५ : ०६

प्रतिक्रिया