काठमाडौं - पर्वतको जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन् । कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषि खेतीमा सक्रिय खत्रीले च्याउ र तरकारी खेतीबाट बर्सेनि १२ लाखभन्दा बढी आम्दानी गर्दै आएकी छन् ।
चार वटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउखेती उत्पादन गरी छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुश्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाइ छ । यस वर्ष च्याउबाट मात्रै सात लाखभन्दा बढी आम्दानी भएको उनले बताइन् । “च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु, उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन,” कृषक खत्रीले भनिन्। गोब्रे च्याउको प्रतिकिलो ५०० र कन्येलाई २०० रुपैयाँमा बिक्री गर्ने गरेकी उनले गोब्रे च्याउबाट यस वर्ष पाँच लाख र कन्ये च्याउबाट दुई लाख रुपैयाँ आम्दानी भएको बताइन् ।
कच्चापदार्थसहितका सामग्रीसमेत तयार गर्ने गरेकी कृषक खत्रीले सात रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारीबाट पाँच लाख रुपैयाँ आम्दानी गरेको बताइन् । उनले च्याउबाहेक मौसमअनुसार काँक्रो, घिरौँला, बोडी, सिमी, करेला, भन्टा, खुर्सानी, धनियाँ, गाजरलगायतका तरकारी उत्पादन गर्दै आएकी छन् ।
तीनवटै जिल्लाका सदरमुकाम नजिकै रहेको र कालीगण्डकी कोरिडोरअन्तर्गत मालढुंगा–बेनी सडक नजिकै रहेकाले उत्पादित च्याउ र तरकारी बजारीकरणमा समस्या नरहेको उनले बताइन् । खत्रीले यस वर्ष उच्च प्रविधिको टनेल थपेर बाह्रै महिना च्याउखेती गर्दै आएकी छिन्। वातानूकुलित टनेलमा जाडो तथा गर्मी दुवै याममा च्याउ उत्पादन हुँदा च्याउखेतीबाटै निरन्तर राम्रो आम्दानी हुने उनको भनाइ छ ।
सामाजिक एवं राजनीतिक रूपमा सक्रिय रहेकी खत्रीले राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउखेतीलाई विस्तार गर्दै गएको बताइन् । वैदेशिक रोजगारीबाट फर्किएका उनका श्रीमान् भीमबहादुर केसीले च्याउ र अन्य तरकारीखेतीको उत्पादन तथा बजारीकरणमा उनलाई सहयोग गर्दै आएका छन्। अहिले दम्पतीका अलावा समय–समयमा ज्यालादारी मजदुर खोजेर तरकारीखेती गर्ने गरेको उनको भनाइ छ ।
खेती गर्नलाई धेरै ठुलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रति श्रीमानले विदेश नगई सघाउन थालेको खत्रीले बताए । मेहनत गर्ने हो श्रीमानले विदेशमा कमाउने पैसा दुवै मिलेर यहीँ दुःख गरी कमाउन सकिने खत्रीको अनुभव छ । खत्रीले च्याउखेतीबाट भएको कमाइले छोरीलाई उच्च शिक्षाका लागि विदेश पठाएको बताइन । यस्तै, छोरालाई समेत निजी विद्यालयमा पढाउँदै आएकी छिन् । यस्तै, बैंकमा बचत गर्न सफल भएको उनले बताइन् । मेहनत र परिश्रम गर्ने हो भने पैसा कमाउन विदेश जान नपर्दो रहेछ भन्ने आफ्नो अनुभवले देखाएको खत्रीले सुनाइन् ।
पछिल्लो समय गाउँपालिकामा व्यावसायिक रूपमा लाग्ने कृषकको आकर्षण बढेको रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । “गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, अबका दिनमा च्याउखेतीमा अनुदान समेत बढाउँछौँ,” आचार्यले भने। रासस
प्रतिक्रिया