काठमाडौं— सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०र८१ को प्रगति समीक्षा तथा २०८२र८३ को नीति, कार्यक्रम र बजेट योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। उक्त कार्यक्रम वैशाख २३ गतेदेखि २५ गतेसम्म नगरकोटस्थित रत्नागिरी रिसोर्टमा आयोजना गरिएको थियो।
गोष्ठिमा केन्द्रीय कार्यालयको आयोजनामा १० क्षेत्रीय कार्यालयका प्रमुखहरू तथा ४६ शाखा कार्यालयका शाखा प्रमुखहरू सहभागी थिए। कार्यक्रममा हालसम्मको प्रगति विवरण प्रस्तुत गरी लक्ष्य नपुगेका शाखाहरूका कारणको समीक्षा गरिएको छ। साथै, बाँकी अवधिमा लक्ष्य पूरा गर्न आवश्यक रणनीतिबारे छलफल भएको थियो।
कार्यक्रमको सञ्चालन सामान्य सेवा विभागका प्रमुख मिलन महर्जन र लघुउद्यम विकास अधिकृत विरबल नेपालीले गरेका थिए। प्रमुख कार्यकारी अधिकृत दिलीप कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत बेलु माया मगर, कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख डिल्लीराम भट्टराई, वित्त तथा योजना विभाग प्रमुख सुमन महर्जनलगायत अन्य विभाग प्रमुखहरूले प्रशिक्षण र सहजीकरण गरेका थिए।
गोष्ठिमा कर्जाको जोखिम व्यवस्थापन, बजेट निर्माणमा मितव्ययिता, शाखा सञ्चालनको गुणस्तर, कार्यक्षमता वृद्धिसहित लक्ष्य अनुसारको कार्यान्वयनबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। शाखा टिममा ‘टिम स्पिरिट’ विकास गरेर लक्ष्य प्राप्तिमा ध्यान दिन निर्देशन दिइएको थियो।
सामुदायिक लघुवित्तले हाल बागमती प्रदेशका १३ र कोशी प्रदेशका ५ गरी १८ जिल्लामा सेवा विस्तार गरेको छ। संस्थाले ४६ शाखा, १० क्षेत्रीय र १ केन्द्रीय कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया