काठमाडौं- नेपाल र उत्तर भारत क्षेत्र समेटिएको टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक तीन दिने सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।
दिल्ली एनसीआरस्थित गुरगाउँको मेरिडियनमा सम्पन्न उक्त सम्मेलनमा तीन सयभन्दा बढी टोस्टमास्टर्स सदस्यहरूको उपस्थिति रहेको थियो। सम्मेलनको अध्यक्षता डिस्ट्रिक्ट डाइरेक्टर मुनाल प्रधानले गरिन्।
कार्यक्रममा सन् २०२५ जुलाईदेखि २०२६ कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको थियो। क्लब ग्रोथ डाइरेक्टरमा नेपालकी दिप्ती आचार्य निर्वाचित भइन् भने डिस्ट्रिक्ट डाइरेक्टरमा भारतका गौरव चौधरी र प्रोग्राम क्वालिटी डाइरेक्टरमा श्वेतांक शर्मा निर्वाचित भए।
सम्मेलनका अवसरमा टेबल टपिक्स र अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिताहरू समेत आयोजना गरिए। टेबल टपिक्स प्रतिस्पर्धामा सम्पदा रेग्मी पहिलो, साहिल बराल दोस्रो, र देवांश तेस्रो भए। अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा नेपालकी संस्कृति आचार्य प्रथम, श्रेया जैन द्वितीय र प्रसन्न श्रेष्ठ तृतीय भए।
दिप्ती आचार्यले अब क्षेत्रीय स्तरको प्रतिस्पर्धामा नेपाल तथा डिस्ट्रिक्ट ४१ प्रतिनिधित्व गर्दै सहभागिता जनाउनेछिन्। सो प्रतियोगितामा विजयी भएमा उनले विश्व वक्तृत्वकलाको फाइनलसम्मको यात्रा तय गर्नेछिन्।
कार्यक्रममा सन् १९९९ का विश्व पब्लिक स्पिकिंग च्याम्पियन क्रेग भ्यालेन्टाइन ले वक्तृत्वकला सम्बन्धी तालिम सञ्चालन गरे। साथै प्राध्यापक डा. नीरजा पाण्डे ले "नेतृत्व जीवनमा कसरी प्रभाव पार्छ?" र "प्रभावकारी प्रस्तुति" सम्बन्धी प्रेरणादायी सत्र सञ्चालन गरिन्।
प्रेरणादायी भाषण, प्रतियोगिता र नयाँ नेतृत्व चयनको उत्सवसहित सम्मेलन टोस्टमास्टर्स इन्टरनेसनलका मूल्यमान्यताहरूको उच्च सम्मान गर्दै सम्पन्न भएको आयोजकले जनाएका छन्।
प्रतिक्रिया